Dhulikhel Eco Banner new

२३ निर्माण कम्पनी कालो सूचीमा पर्ने, कोशी प्रदेशको मन्त्री छनोटमा विवाद देखि भ्रष्ट्राचारमा प्रशासनिक अधिकृत मुछिएसम्म

3.25K
shares

काठमाडौं, २५ असार । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य बढेको छ । जसअनुसार सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेको छ भने छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो ।

उक्त दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउमा पनि वृद्धि भएको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ ।

कारोबारको पहिलो दिन शेयर बजारमा सुधार भएको छ । आज शेयर बजारमा २८ अंकको सुधार आएको छ । आज २८ दशमलव ३८ अंकले सुधार आएर शेयर बजार परिसूचक २०७७ दशमलव ७६ विन्दुमा पुगेको छ ।

आइतबार २८७ कम्पनीका ८३ लाख ५२ हजार ५७६ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब ४ करोड २५ लाख ४३ हजार ९६१ रुपैयाँको कारोबार भएको छ । त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ६ दशमलव ३५ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३८८ दशमलव ५१ विन्दुमा पुगेको छ ।

सरकारले विभिन्न २३ वटा निर्माण तथा सप्लायर्स कम्पनीहरूलाई कालो सूचीमा राख्ने तयारी गरेको छ । देशभरका विभिन्न आयोजनामा ठेक्का लिएर जिम्मेवारी पुरा गर्न ढिलासुस्ति गर्दै आएका तथा सन्तोषजनक काम नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो । आइतबार एक सूचना निकाल्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २३ वटा कम्पनी तथा सप्लायर्सलाई कालो सूचिमा नराख्नुपर्ने कारण माग गरेको छ ।

सात दिनभित्र लिखित जवाफ सहित कार्यालयमा नगए सबै निमार्ण कम्पनी र सप्लायर्र्सलाई कालो सूचिमा राख्ने चेतावनी दिएको हो । सम्बन्धित निकायबाट कालो सूचीमा राख्न सिफारिस भएका कम्पनीहरूलाई ३० दिनको म्याद दिएर स्पष्टीकरण माग गर्दा सम्पर्कमा नआएपछि कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको हो । सात दिनभित्र यदि पनि स्पष्टीकरण नदिए उक्त २३ वटा कम्पनीहरू कालो सूचीमा पर्नेछन् ।

उदयपुरबाट निर्वाचित कोशीका प्रदेशसभा सदस्य नारायण बुर्जामगरले सरकार गठनप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिने मनसायमा रहेको बताएका छन् । उदयपुर २(१) बाट दुईपटक प्रदेशसभा सदस्यमा निर्वाचित उनले आफू र आफ्नो क्षेत्रका मतदाताप्रति अन्याय भएको बताएका छन् । आइतबार दिउँसो उनले फेसबुकमा लेखेका छन्, ‘म र मेरो मतदातामाथि बारम्बार अन्याय भयो ।

दुई दुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मुल्याङ्कन गर्न सकेन, कोशी प्रदेश सरकार गठनप्रति मेरो विमति छ । यसै कुरालाई मध्यनजर गर्दै आवश्यक परे मलाई मतदान गर्ने सार्वभौम जनतासँग परामर्श गरेर प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने मनसाय बनाइसकेको छु ।’

स्रोतका अनुसार उद्धव थापा नेतृत्वको सरकारमा उनी मन्त्री बन्ने लगभग पक्का थियो । तर अन्तिम समयमा नाम काटिएको थियो । कोशीमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ जीवन आचार्य र राजेन्द्र कार्की मन्त्री बनेका छन् ।

ट्यांकी निर्माण नै नगरी भुक्तानी दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा कर्णाली प्रदेशको मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चंखेली गाउँपालिका–२ मा खानेपानीको ट्यांकी निर्माण गर्ने योजना थियो ।

तर ट्यांकी निर्माण नै नगरी नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई बढी मूल्यांकन गरी भुक्तानीदिएको अख्तियारको आरोप छ । प्रमुख प्रशासकीय अधिकृत शाहीले ६ लाख ४८ हजार ७८६ रुपैयाँ हानिनोक्सानी पु¥याएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए ।

यो घटनामा अख्तियारले चंखेली गाउँपालिकाका इन्जिनियर मानबहादुर ऐडी, प्राविधिक सहायक गोवर्धन बोहरा, लेखापाल नवीन रेग्मी, चंखेली गाउँपालिका–२ का तत्कालीन वडाध्यक्ष हरिहर उपाध्याय, ट्यांकी निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी, कोषाध्यक्ष नन्दादेवी देवकोटा धिताल विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।