बढ्यो कृषि विकास बैंकको नाफा, चुक्ता पूँजी १३ अर्ब ४५ करोड
वि.सं.२०८० साउन २० शनिवार १०:३०
shares

काठमाडौं, २० साउन । कृषि विकास बैंक लिमिटेडको खुद नाफा बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण यस्तो देखाएको हो ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ७७ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.९८ प्रतिशत बढी हो। आर्थिक वर्ष २०७९/८० को सोही अवधिसम्ममा बैंकले १ अर्ब ८९ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी ३.३० प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १३.२८ प्रतिशत घटेको छ। अघिल्लो आर्थिक वर्ष २३ करोड २४ लाख रुपैयाँ ऋणात्मक रहेको बैंकको खुद ट्रेडिङ्ग आम्दानी, गत आर्थिक वर्षमा बढेर १ अर्ब ५ करोड रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७१ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको प्रतिशेयर १९ रुपैयाँ ८९ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ २१ पैसा बढेर २० रुपैयाँ ६२ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.३४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २११ रुपैयाँ ६० पैसा रहेको छ।
१३ अर्ब ४५ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब ३३ करोड ८६ लाख रुपैयाँ सञ्चित छ।















