GBIME

नेपाल राष्ट्र बैंकमा अन्तरवार्ता दिने भएपछि कोट पाइन्ट सिलाएँ : मनोज ज्ञवाली

8.24K
shares

काठमाडौं, २६ भदौ । पहिला र अहिले वातावरण धेरै कुरामा फरक छ । धेरै कुरा परिवर्तन भइरहेको छ । आर्थिक, सामाजिक परिवर्तन संगै नकारात्मक कुराहरुले बढो धेरै चर्चा पाउने गरेको छ । सामाजिक सञ्जालमा हेर्नुस् नेगेटिभ कुराहरु नै भाइरल हुन्छ । टिकटक फेशबुकमा के कुरा भाइरल भएको छ तपाईहरुले देखिरहनु भएको छ । यी कुराहरुले भाई बहिनीको मनोदशा विगार्छ कि भन्नेमा म चिन्तित छु ।

एउटा जमाना थियो । सफल हुनका लागि रवाफ देखाए पुग्थ्यो । थोरै बोल्ने, सकेसम्म नबोल्ने, नहाँस्ने, डरले तर्साएर काम लिन्थे । ति मान्छे त्यो समय गज्जबले सक्सेस भए । त्यसपछि बिस्तारै यसरी हुँदैन अलि सहयोगी पनि हुन पर्ने रहेछ, टिम बनाएर टिमलाई लिएर हिँड्ने चलन आयो सबैलाई मिलाएर जान सक्ने मान्छेहरु सक्सेस हुन थाले । अहिले त्यति मात्रै गरेर हुँदैन । अब सफल हुन टेक्नोसेभिङ स्टाटेजिकल माइन्डसेट लिएर जान सक्ने हुनुपर्छ । रिलेसनसिप मेनेजमेन्ट र कम्युनिकेशन स्किल भएको मान्छेले मात्रै गज्जबले काम गर्न सक्छ । रिलेशनसिप म्यानेजमेन्ट, कम्युनिकेशन, स्किल म्यानेजमेन्ट र स्किल स्टाटेजिकल भएको मान्छे मात्रै अब सफल हुन्छ । स्किल भयो भयो भने तपाई जे गरे पनि सक्सेस हुन सक्नुहुन्छ ।

अहिले त सर्भिस पनि ग्लोबलाईज भैसक्यो । तपाईहरुले ध्यान दिनु पर्ने कुरा हाम्रो मानसिकता यस्तो छ । अहिले पनि के का लागि पढ्ने भनेर सोध्ने हो भने राम्रो नम्बर ल्याउनका लागि भन्ने चलन छ । जाँच आउने बेलामा हामी बेपत्ता पढ्छौं अरु बेला पढ्दैनौं।

हाम्रो पढाई सिक्नका लागि भन्दा पनि राम्रो नम्बर ल्याउनमा मात्रै केन्द्रित छ । सोध्नेले पनि के सिक्यौ भनेर सोध्दैनन् नम्बर कति ल्यायो भनेर सोध्छन् । कलेजको मापन पनि त्यसै गरि हुने गरेको छ । जुन कलेजको विद्यार्थी धेरै पासआउट भयो त्यहि राम्रो । तर, अब त्यसरी चल्दैन । तपाईले कलेजको पढाई संगै संगै घर अगाडीको चिया पसल, किरान पसललगायतले कसरी म्यानेज गरेका छन् भनेर हेर्नु भयो र पढ्न थाल्नु भयो भने एकाउन्टिङ होस् या मार्केटिङ तपाई सक्सेस हुनुहुन्छ ।

बिबिए र बिबिएसपछि म के गर्ने धेरैसंग योजना हुँदैन । अनि भन्छन् सरकारी जागिर गर्छु । कतिपयले त पढाई सक्दा पनि कुन चाँही ठिक हो भनेर सोधिरहेका हुन्छन् । कसैलाई सोध्न जरुरी छैन । तपाईलाई केमा रुची छ त्यहि ठिक हो । यो ठिक, यो बेठिक भन्ने छैन । प्राइभेट क्षेत्रमा जाने हो या सरकारी । विदेशै जाने हो भने पनि निर्णय आफै गर्नु पर्छ र आफ्नो फिल्ड छानेपछि त्यसैमा पफेक्ट हुने गरि पढ्नु पर्छ । अबका विद्यार्थीले हरेक टिचरले पढाएको बेला म क्षमताको पनि विकास गर्छु भनेर पढने हो जाँचमा राम्रो नम्बर ल्याउछु मात्रै भनेर हुँदैन ।

मैले शंकरदेव पढ्दा स्टाटेटिक्स भन्ने एउटा विषय पढेको थिएँ । मेरो ६८ नम्बर आएको थियो । अहिले त्यो विषयको प्रश्न हल गर्न लगाउने हो भने म एउटा पनि हल गर्न सक्दिन किनकी मैले त्यो विषय मात्रै नम्बर ल्याउनका लागि पढेको थिए । तर, चार्टर एकाउन्टेन्सीको कोर्षमा आज पनि दिनुस् ५० ÷६० नम्बर ल्याइदिन्छु । सिए पढ्दा म सिए बन्छु करिअर बनाउँछु भनेर पढेको थिएँ ।

अन्तवार्ताका लागि कोट पाइन्ट

म दैलेखमा जन्मेको मान्छे एसएलसीमा मुस्किलले ५१ प्रतिशत अंक ल्याएको थिए । हाम्रो पालामा ५१ प्रतिशत पनि धेरै मानिन्थ्यो । १७० जना विद्यार्थीमा पहिलो भएको थिएँ । जम्मा ६ जना विद्यार्थी पास भएका थियौं । साइन्स, म्याथ पढाउने टिचर त जनकपुरबाट खोजेर लानु पथ्र्यो ।

सरकारी स्कुल पढेँ । चार्टर एकाउन्टेन्सी पढन जाँदा एकचोटी फेल भएँ दुई चोटी फेल भएँ हिम्मत चाँही हारिन । मैले राष्ट्रबैंकमा अन्तवार्ता दिन जाँदा सत प्रतिशत तयारी गरेको थिएँ यतिसम्म कि अन्तरवार्ता दिन जानकै लागि भनेर पहिलो पटक कोट पाइन्ट सिलाएको थिएँ । पहिलो नम्बरमा नाम निकालेँ ।

त्यो भन्दा अगाडी मैले कोट लगाएको थिइन् । दैलेखको कुरा गर्नु हुन्छ भने दैलेखबाट चुनाव जितेर आएको मान्छे एकजना पनि मन्त्री भएको छैन । त्यो जिल्लाको पहिलो चार्टर एकाउन्टेन्ट पनि मै हो, बैंक बित्तिय संस्थाको पहिलो सिइओ पनि मै हो । राष्ट्र बैंकको पहिलो हाकिम पनि मै हो । म अहिले पनि केही कुरा छान्नु प¥यो भने सिरियस्ली लिन्छु । अहिलेका भाइ बहिनीहरु कलेजबाट निस्केपछि सिभी बनाउछन् र जहाँ मन लाग्यो पठाइदिन्छ । तयारी गरेको हुँदैन अन्तरवार्ता दिन जान्छन् अनि कसरी पास होउन् ।

सफल हुन चाहने मान्छेले हरेक सिच्वेसनमा काम गर्न सक्नु पर्छ । हाम्रो एउटा गलत मान्यता के छ भने कसैले म जागिर दिन्छु कालीकोटमा काम गर्न जान्छौ भन्यो भने ‘अहँ म त पोखराबाट उता गएकै छैन सक्दिन ।’ भन्छ । तर, अष्ट्रेलिया जान्छौ भन्यो भने तुरुन्तै हुन्छ भन्ने प्रवृत्ति छ । जबकी सात समुन्द्र पारी रहेको देश जसको बारेमा केही थाह छैन, कोही आफन्त छैन तर, तुरुन्तै हुन्छ भन्छ । हाम्रै कालिकोटमा जाने हिम्मत गर्दैन ।

यहाँ बुझ्नुपर्ने कुरा कँहि पनि अन्तवार्ता दिन जाँदा कालीकोट जान्छौ वा विराटनगर भनेर सोध्नुको अर्थ आजै कालिकोट पठाउन हैन तपाईमा काम गर्ने उत्साह क्षमता छ कि छैन भनेर चेक गरेको हो । त्यस्तो अवस्थामा ‘मलाई पठाउनुस् म काम गरेर देखाउछु’ भन्नुस तपाई छानिनु हुन्छ । नयाँ ठाउँमा जाने सन्दर्भमा धेरैले भन्छन् ‘म त लोकल हैन ।’ लोकल त कुखुरा मात्रै हुन्छ । हरेक मान्छे कँही पनि एक हप्तामा लोकल हुनसक्छ । त्यसका लागि लजाउने काम बन्द गर्नुपर्छ । सकेसम्म कुनै पनि ग्यादरिङमा जाँदै हुनुहुन्छ भने नयाँ कन्सेप्ट लिएर जानुस् ।

धनी हुनलाई सम्बन्ध

मान्छे धनी हुनलाई दुईटा अहिले दुइटा एकाउन्ट चाहिन्छ । पहिलो हो बैंकमा हुने एकाउन्ट जहाँ टन्न पैसा भएपछि त्यो मान्छे गरिब हुँदैन । दोस्रो एकाउन्ट रिलेशनसिप हो । रिलेसनसिप भएपछि त्यो मान्छेलाई धनी हुन कुनै बेर लाग्दैन ।

आफ्नै बारेमा मुल्याङ्कन गर्नुस्

अर्को ध्यान दिनु पर्ने कुरा । हामीलाई गाली गर्दा खुब मज्ज आउछ । नेतालाई गाली गर्छौ, सिष्टमलाई गाली गर्छौ, प्रोसेसलाई गाली गर्छौ । भाई खराब, बाउ खराब, बैक खराब । आठ अर्ब मान्छे मध्ये चाँही ठिक जस्तो लाग्छ । हामी अरुको हेर्छौ आफ्नो मुल्याङ्कन गर्दैनौ । जुन मान्छेले आफ्नो मुल्याङ्कन आफैं गर्छ । उ कहिल्यै असफल हुँदैन । भोलीदेखी नै तपाईहरु पनि आफ्नो मुल्याङ्कन आफै गर्ने गर्नुस् ।

डिभाइसले मनको कुरा बुझ्छ

प्रविधीले मान्छेलाई कसरी बिगार्दैछ । युट्युबमा चार पटक कुनै भिडियो हेर्नुस् । पाँचौ पटक खोजी रहन पर्दैन । सर्च इन्जिनले त्यस्तै त्यस्तै चीज पठाइदिन्छ । फेशबुकमा जस्तो समाचार स्क्रोलिङ गर्नु हुन्छ त्यस्तै आउछ । टिकटकमा जे हेर्नु हुन्छ त्यस्तै आउछ । यो भनेको के हो त भन्दा यो डिभाइसले तपाईको मनको कुरा बुझ्छ ।

जान्दै नजानी मन्द विष जस्तो तपाईको मष्तिष्कलाई प्रभाव पारिदिन्छ । मैले अघि एउटा कुरा भनेको थिएँ राष्ट्रबैंकमा १ नम्बरमा नाम निकाले । हामीले एक्जाम दिँदा ८ जना चार्टर एकाउन्टेन्ट मागेको थियो । निवेदन दिने पनि हामी आठै जना थियौं ।

अहिले ८ जना माग्यो भने चार सय जनाले आवेदन दिन्छन् । अब तपाइसंग सर्टिफिकेट मात्रै भएर हुँदैन स्किल र एटिच्युट पनि हुनु पर्छ । अर्को कुरा धेरैको जिन्दगी गुनासो गरेरै बित्छ । सकारात्मक हुनुस् । पाँच मध्ये एउटा काममा हात हाल्नुस् । तपाई सफल हुनुहुन्छ । यदि तपाई मेनेजमेन्टको विद्यार्थी हो भने म भन्छु राष्ट्रबैंकका वेभसाइट हेर्नुस्, राम्रो मान्छेका इन्टरभ्यु हेर्नुस् । डाटाहरु हेरेर एनलाइटिक्स गर्नुस् । कितावबाहेक अरु कुरा पनि पढ्नुस् । जहाँ समस्या छ सम्भावना पनि त्यहि छ । म्यानेजमेन्टका विद्यार्थीका लागि संसारमै सबै भन्दा धेरै सम्भावना छ । हस्पिटल होस् या स्कुल, अन्य कुनै कारखाना म्यानेजमेन्टका विद्यार्थीबिना चल्दै चल्दैन ।

क्याथपोर्ड कलेजद्धारा मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा व्यक्त विचार