नैतिकताको आधारमा भन्दै रविन्द्र मिश्रले दिए अध्यक्षबाट राजीनामा
वि.सं.२०७९ जेठ ११ बुधवार १२:५४
shares

काठमाडौँ, ११ जेठ । रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका छन् ।
स्थानीय तहको निर्वाचन २०७९ मा पार्टीले अपेक्षित परिणाम हासिल नगरेपछि मिश्रले नैतिकताको आधारमा भन्दै राजीनामा दिएका हुन् ।
निर्वाचनमा प्राप्त परिणामको जिम्मेवारी लिँदै बुधबारबाटै लागू हुने गरी आफूले राजीनामा दिएको मिश्रले विज्ञप्तिमार्फत जनाएका छन् । ‘५ वर्ष तन, मन र धनले भ्याएसम्म संयोजक र अध्यक्षका रूपमा निस्वार्थ र इमानदारका साथ प्रयास गर्दागर्दै पनि निर्वाचनमा सोचेजस्तो परिणाम नआएपछि त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा राजीनामा दिएको छु,’ उनले भने ।
विवेकशीलले काठमाडौं र भरतपुरसहित अधिकांश ठाउँमा उम्मेदवारी दिएको थियो । विवेकशीलका उम्मेदवारले अपेक्षित परिणाम भने ल्याउन सकेनन् । विवेकशील साझा पार्टीले यस पटक बाराको फेटा गाउँपालिकामा अध्यक्षसहित केही वडामा मात्र जित हात पारेको छ । फेटामा विवेकशीलका रुस्तम अन्सारी अध्यक्ष र नीलम साह उपाध्यक्षमा निर्वाचित भएका छन् ।

















