GBIME

मुस्ताङलाई ५० करोड उपलब्ध गराउने प्रधानमन्त्रीकाे घोषणा

948
shares

काठमाडौं, १ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लामा जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि झण्डै ५० करोड आर्थिक सहयोग उपलब्ध गराउने बताएका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायुु परिवर्तनसम्बन्धी अन्तक्रिया कार्यक्रममा सहभागी उनले यस्तो घोषणा गरेका हुन् । ‘एउटा अन्तर्राष्ट्रिय संस्थाबाट झण्डै ५० करोड सहयोग प्राप्त हुँदैछ’ उनले भने,‘त्यो पचासै करोड मुस्ताङलाई नै हामी दिँदै छौं ।

जलवायु परिवर्तन राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय चुनौतीको रुपमा रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले मुस्ताङमा जलवायु परिवर्तनले पुगेको क्षतिलाई रोक्न नेपाल सरकार गम्भीर ढंगले लागेको समेत उनले बताए ।

प्रधानमन्त्री दाहालसँगै वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो, गण्डकी प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सुशीला सिंखडा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायत मुस्ताङ पुगेका छन् ।

जलवायुु परिवर्तनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री दाहालले आजै जोमसोममा ‘जनतासँग माओवादी रुपान्तरण अभियान’ अन्तर्गत आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।