विपत्तिलाई पुनःनिर्माणको महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गराैं : प्रधानन्त्री
वि.सं.२०८० कात्तिक १९ आइतवार १२:३५
shares

काठमाडौँ, १९ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाजरकोट–भूकम्पपीडितको राहत र पुनःस्थापनालाई प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिएका छन् ।
सिंहदरबारमा आइतबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले भूकम्प प्रभावित जनतालाई विश्वासमा लिएर तयारीका साथ काम गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री दाहालले भूकम्पले ठूलो धनजनको क्षति गरेकोमा गहिरो दुःख व्यक्त गर्दै विपत्तिलाई पुनःनिर्माणको महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
जाजरकोट र रुकुम पश्चिममा गएको विनासकारी भूकम्पको क्षति र सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न बोलाइएको विपद् व्यवस्थापन जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३औँ बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले विपदपछिको उद्दार, राहत र पुनःनिर्माण प्रभावकारी बनाउनेतर्फ गम्भीर हुन सबैलाई निर्देशित गरेका हुन् ।
प्रधानमन्त्री दाहालले भूकम्प गएलगत्तै तीनै तहका सरकार र निकायबाट गरिएको पहल सकारात्मक रहेको उल्लेख गरे । उनले विस २०७२ को भूकम्प गएको समयमा गरिएको असल अभ्यासका आधारमा विद्यमान ऐन, नियम र संरचनालाई पुनःसंरचना गरी शीघ्र रुपमा काम गर्नका लागि तयारी गरिएको बताए ।
प्रधानमन्त्री दाहालले भूकम्पपीडितहरुलाई न्यानो कपडाको व्यवस्थापन गर्न र उपचार प्रभावकारी बनाउन निर्देशन दिए । नेपाल प्राकृतिक विपदको जोखिममा रहेको मुलुक भएको भन्दै प्रधानमन्त्री दाहालले सरकारले जति पहल गर्नुपर्ने हो र जनतामा जति चेतना अभिवृद्धि गर्नुपर्ने हो त्यो नपुगेको बताए ।
‘अबको तीन दिन राहतका निम्ति अधिकतम पहल गरौँ । पुनःस्थापना प्रभावकारी बनाउनुपर्छ । त्यसका लागि आवश्यक पर्ने ऐन, कार्यविधि र संरचना चाहिन्छ । विद्यमान ऐन, विधि र संरचनाले पुनःनिर्माणको काम प्रभावकारी देखिएको छैन, विगतको अनुभवको पनि हामीले राम्रो समीक्षा गर्नुपर्छ’ उनले भने ।
बैठकमा उपप्रधानमन्त्री एव् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा प्रकाशशरण महत, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेत, कृषि तथा पशुपन्छी विकास मन्त्री मन्त्री डा बेदुराम भुसाल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, सहरी विकास मन्त्री सीता गुरुङ, भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वाला, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायतले प्रधानमन्त्री दाहालले देखाएको सक्रियता र खटाइको प्रसंशा गरेका थिए।















