फरवार्ड माइक्रोफाइनान्सको ११ औँ साधारणसभा सम्पन्न
वि.सं.२०८० पुस २८ शनिवार १६:४९
shares

सुनसरी, २८ पुस । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको मुख्य कार्यालय सुनसरीको दुहवीमा आयोजित वार्षिक साधारणसभाको प्रमुख अतिथी सांसद भगबती चौधरी रहेकी थिइन् ।
साधारण सभा उद्घाटन गर्दै प्रमुख अतिथि चौधरीले वर्तमान विश्व नै आर्थिक मन्दीको चपेटामा परेको बेलामा पनि नेपालका लघुवित्त संस्थाहरुले ५९ लाख विपन्न सदस्यहरुलाई वित्तीय सेवा पुर्याएर मुलुकको आर्थिक सुधारमा टेवा दिएको बताइन् । गाउँघरमा छरिएर रहेका स–साना पुँजीहरुलाई एकीकृत गरि लघुवित्त संस्थाहरुले ऋण प्रवाह गरिरहेकाले कसैले चाहँदैमा ऋण मिनाहा हुन नसक्ने पनि बताइन् ।
विशिष्ट अतिथि गढी गाउँपालिकाका अध्यक्ष तथा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका पूर्व प्रमुख कार्यकारी प्रमुख आशनारायण चौधरी थिए ।
प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशीले लघुवित्तको क्षेत्रमा देखिएको वित्तीय जटिलताहरु विस्तारै सामान्यतर्फ उन्मुख रहेको बताउँदै नेपाल सरकार, राष्ट्र बैंक, तथा ग्राहक सदस्यहरुको संयुक्त प्रयासबाट लघुवित्त संस्थालाई नकारात्मक प्रभाव पार्न खोज्ने तत्व निस्तेज हुँदै गएको बताए ।
सभामा सञ्चालक सदस्यद्वय बलराम चौधरी, प्रा.डा. श्यामकुमार महतो र संस्थापक शेयरधनी पुरुषोत्तम चौधरीले मन्तव्य राखेका थिए ।
साधारण सभाले वित्तीय संस्थाका अध्यक्ष केशवराज पौडेलले सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रतिवेदन पारित गरेको छ । भने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७९–८० को नाफा–नोक्सान हिसाब तथा नगदप्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू, लेखापरीक्षण समितिले सिफारिस गरेबमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष २०८०–८१ को कारोबारको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने विषयलाई समेत पारित गरेको थियो ।
सभामा वित्तीय संस्थाले २०८० मंसिर मसान्तसम्म ४० जिल्ला अन्तर्गत ३८२ गाउँपालिका–नगरपालिकाका २ लाख ८५ हजार २१९ ग्राहक सदस्यहरुलाई १९ अर्ब ९८ करोड ६९ लाख २० हजार कर्जा प्रवाह गरेको जानकारी दिइएको थियो ।


















