रिडी पावर कम्पनीको साधारणसभा सम्पन्न
वि.सं.२०८० पुस २८ शनिवार १७:३८
shares

काठमाडौं, २८ पुस । रिडी पावर कम्पनी लिमिटेडको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज शनिबार इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वरमा संजिव न्यौपानेको अध्यक्षतामा सभा सम्पन्न भएको हो । कम्पनीले यो वर्ष लाभाशं वितरण नगर्ने भएको छ । कम्पनीले अर्को वर्ष लाभाशं वितरण गर्ने प्रतिवद्धता जनाएको छ ।
सभाले अव २०७९–८० को संचालक समितिको प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन सहितको आषढ ३१, २०८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरण र २०८०–८१ को लागि लेखा परीक्षक र पारिश्रमिक निर्धारणको प्रस्ताव पारित गरेको छ ।
कम्पनीको मातहतमा अहिले ४ वटा आयोजनाहरु संचालनमा रहेका छन् । कम्पनीको पहिलो जलविद्युत आयोजना धादिङ्ग जिल्लाको थाक्रे गाउँपालिकामा ५०० किलोवाट क्षमताको रैराङ खोला जलविद्युत आयोज, दोस्रो रीडी खोलामा २४०० किलोवाट क्षमताको रीडीखोला जलविद्युत आयोजना, तेस्रो पाँचथर र ताप्लेजुङ जिल्लाको सीमामा ९९०० किलोवाट क्षमताको इवाखोला जलविद्युत आयोजना, चौथो रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा ८५०० किलोवाटको बुटवल ग्रिड जडित सौर्य विद्युत आयोजना सञ्चालनमा छन् ।
कमपनीसँग कुल २१.३१ मेगावाटका विद्युत आयोजनाहरु संचालनमा रहेका छन् । कम्पनीको लगानी रहेको साझा पावर डेभलपमेन्ट प्राइभेट लिमिटेडले अहिले २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।


















