राहतको पर्खाइमा झापाका ३२१ हात्तीपीडित

324
shares

झापा, २६ माघ । झापामा जंगली हात्तीको आक्रमणबाट जनधनको क्षति बेहोरेका हात्तीपीडित राहतको पर्खाइमा छन्। चालु आर्थिक वर्ष २०८०र८१ को साउनयता जिल्लाका विभिन्न स्थान र समयमा हात्तीको आक्रमणमा परी जनधनको क्षति बेहोरेका तीन सय २१ परिवार सरकारी राहतको पर्खाइमा छन्।

चालु आवको गत कात्तिक २ गतेसम्म तीन सय २१ हात्तीपीडित परिवारलाई ५८ लाख २८ हजार ९४० रुपैयाँ राहत रकम माग गरी मन्त्रालयमा पठाइएको डिभिजन वन कार्यालयका झापाका वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए।

उनका अनुसार राहत माग गरिएकामा १ जना मृतकको १० लाख, ३ जना घाइतेका लागि ५ लाख ८० हजार ९४०, चौपाया १ बराबर १० हजार, विभिन्न घरगोठमा पुर्‍याएको क्षतिको पूर्तिका लागि १४ लाख ८२ हजार ५००, भण्डारण गरिएको अन्न क्षति बराबर ६ लाख ३९ हजार ६०० र बालीनालीमा हात्तीले गरेको क्षति बराबर २१ लाख १५ हजार ९०० रहेको छ ।

कात्तिक २ गतेयता हात्तीको आक्रमणबाट मृत्यु भएका ४ सहित १९४ परिवारलाई राहत माग गर्न विवरण सङ्कलन भइ प्रक्रियामा रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

मृतक ४ जनाको ४० लाख, घाइते ३ जनाका लागि २ लाख ७० हजार ९५२, घरगोठका क्षति पुगेकाका लागि ५ लाख ६४ हजार ५००, भण्डारण गरिएको अन्न २ लाख ५२ हजार ७०० र बालीनाली १३ लाख ८७ हजार ९०० गरी ६४ लाख ७६ हजार ५२ रुपैयाँ राहत मागका लागि तयार गरिएको वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए। हात्तीपीडितका लागि माग गरिएको राहत रकम आउन ढिलो हुँदा समस्या भएको उनको भनाइ थियो ।