‘आर्थिक समृद्धिलाई केन्द्रमा राखेर सरकार अघि बढेको छ’
वि.सं.२०८० फागुन १९ शनिवार १५:०४
shares

दमौली, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर वर्तमान सरकार अघि बढेको बताएका छन् ।
जनयुद्ध अध्ययन प्रतिष्ठानले आयोजना गरेको ‘अमरगाथा’ पुस्तक विमोचन एवं सहिद सम्मान कार्यक्रममा महासचिव गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले आर्थिक समृद्धिलाई नै केन्द्रमा राखेर काम गरिरहेको बताए ।
प्रधानमन्त्रीको कुशल नेतृत्वका कारण मुलुक विकासको बाटोमा अग्रसर भएकाले वर्तमान सरकारलाई सहयोग गर्नु सबै राजनीतिक दलको दायित्व भएको महासचिव गुरुङले बताए ।
सहिदको बलिदान र योगदानले मुलुकमा गणतन्त्र स्थापना भएकाले यसको रक्षा गर्नु अहिलेको प्रमुख चुनौती भएको महासचिव गुरुङको भनाइ थियो ।
महासचिव गुरुङले प्रतिष्ठानकी अध्यक्ष आशा कोइरालाले लेखेको ‘अमरगाथा’ पुस्तक विमोचन गरे । सोही अवसरमा जिल्लाका सहिद तथा बेपत्ता परिवारका सदस्यलाई गुरुङले सम्मान गरे।



















