Dhulikhel Eco Banner new

१९९ हप्तादेखि निरन्तर सरसफाइ

3.93K
shares

काठमाडौं, २६ फागुन । काठमाडौं महानगरपालिका–२६ सामाखुशी सङ्गमटोलदेखि पवित्रनगर चोकसम्म संस्कार समाज नेपालले विगत एक सय ९९ हप्तादेखि निरन्तर सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

‘असल संस्कार सिकौँ, सिकाऔँ, आफ्नो देश आफैँ बनाऔँ’ भन्ने मूल नाराका साथ २०७४ सालमा स्थापना भएको संस्कार समाजले एक सय ९९ हप्तादेखि निरन्तर सरसफाइ अभियान सञ्चालन गरेको हो । हरेक शनिबार बिहान ८ बजेदेखि ९ बजेसम्म सञ्चालन हुँदै आएको सरसफाइ कार्यक्रमअन्तर्गत आज नवसङ्गम मार्गदेखि पवित्रनगरसम्म सरसफाइ गरिएको हो ।

संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङले असल संस्कारको विकास गर्नसके देशको विकास हुने भएकाले सरसफाइमार्फत असल संस्कार प्रदान गरिँदै आएको बताए । उनले सरकारले लिएको समृद्ध मुलुकको लक्ष्य पूरा गर्न असल संस्कार आवश्यक रहेको र असल संस्कारको विकासका लागि संस्कार समाजले काम गर्दै आएको उल्लेख गरे ।

सो समाजले यसअघि नयाँ बसपार्कबाट विभिन्न जिल्लामा ओहोरदोहोर गर्ने सार्वजनिक सवारीसाधनलाई एक हजार थान पेनड्राइभ, पाँच सय थान डस्बिन, समाज परिवर्तनका लागि नैतिक शिक्षा, सामाखुशीदेखि माछापोखरी चोकसम्म ट्राफिक जनचेतनासम्बन्धी सूचनापाटी निर्माणको काम सम्पन्न गरेको छ भने प्रत्येक हप्ता शनिबार देशभरका विभिन्न स्थानमा सरसफाइ कार्यक्रम गर्दै आइरहेको छ ।