७ महिनामा सरकारको कुल खर्च ६ खर्ब ८६ अर्ब ७५ करोड
वि.सं.२०८० फागुन २७ आइतवार १५:३९
shares

काठमाडौं, २७ फागुन । गत आर्थिक वर्षको ७ महिनाको तुलनामा सरकाको कुल खर्च वृद्धि भएको छ । आईतबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार गत वर्षको तुलनामा सरकारले २.९ प्रतिशतले बढी खर्च गरेको छ ।
आर्थिक वर्ष २०८०÷८१ को सात महिनामा नेपाल सरकारको कुल खर्च रु.६८६ अर्ब ७५ करोड भएको नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
सरकारी खर्च गत आर्थिक वर्षको पहिलो सात महिनामा १३.० प्रतिशतले वृद्घि भएकोमा, समीक्षा अवधिमा २.९ प्रतिशतले वृद्घि भएको छ । समीक्षा अवधिमा चालु खर्च रु.५०९ अर्ब ४ करोड, पँुजीगत खर्च रु.६३ अर्ब ५८ करोड र वित्तीय व्यवस्था खर्च रु.११४ अर्ब १३ करोड रहेको छ ।
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.५६७ अर्ब ४० करोड भएको छ ।
गत आर्थिक वर्षको पहिलो सात महिनामा १६.१ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा १०.२ प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व रु.५१० अर्ब ५० करोड र गैर कर राजस्व रु.५६ अर्ब ९१ करोड परिचालन भएको छ















