Dhulikhel Eco Banner new

जुम्लाका स्थानीय तहको आम्दानी न्यून

4.29K
shares

काठमाडौं, ५ असार। जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटा स्थानीय तहको आन्तरिक आम्दानीको स्रोत घटेको महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा औँल्याइएको छ ।

प्रतिवेदनअनुसार जिल्लाको एकमात्र नगरपालिका चन्दननाथले आर्थिक वर्ष २०७९/८० मा वार्षिक आय दुई करोड ५० लाख आम्दानी हुने अनुमान गरेकामा एक करोड २० लाख ६० हजारमात्र आम्दानी भएको छ । नगरपालिकाले उठाएको उक्त रकम विभिन्न शीर्षकअन्तर्गत कर, सेवा शुल्क, व्यवसाय, सवारी, एकीकृत सम्पत्ति, घरजग्गा बहाल र नक्सापासबाट प्राप्त भएको हो ।

तिला गाउँपालिकाले १८ लाख ९० हजार आन्तरिक आम्दानी गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५८ मा पालिकाले आफ्नो कार्यक्षेत्रभित्रका विभिन्न व्यवसाय गर्ने व्यक्तिबाट व्यवसाय कर उठाउनुपर्ने व्यवस्था रहे पनि तिलाले कुनै पनि कर संकलन गर्न नसकेको महालेखा परीक्षकको प्रतिदेनमा सार्वजनिक गरिएको छ । यसैगरी, सिञ्जा गाउँपालिकाले गत आवमा १३ लाख ४१ हजार आम्दानी गरेको थियो ।

तातोपानी गाउँपालिकाले पेस गरेको आयव्यायकोे अनुमानमा आन्तरिक आयतर्फ मालपोत कर सेवा, शुल्क दस्तुरवापत अनुमानित २० लाख प्राप्त हुुने प्रक्षेपण गरेकामा सोही आवमा ३० लाख ९९ हजार अर्थात् अनुमानभन्दा ५४ दशमलव ९९ प्रतिशत बढी आन्तरिक आय उठेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए । गुठीचौर गाउँपालिकाले १८ लाख ६६ हजार, हिमा गाउँपालिकाको १६ लाख ५४ हजार र कनकासुन्दरी गाउँपालिकाले १८ लाख २५ हजार आम्दानी गरेको महालेखा परीक्षकको प्रतिदेनमा जनाइएको छ ।

स्थानीय तहले विभिन्न नौ प्रकारका कर उठाउन पाउने कानुनी व्यवस्था भए पनि जिल्लाका स्थानीय तहले आय सङ्कलनमा कुनै चासो नदिएका तिला गाउँपालिका स्थानीयवासी नर रोकायाले बताए । आम्दानी कम हुँदा स्थानीय सरकार, सङ्घ र प्रदेश सरकारको अनुदानमा निर्भर छन् ।