राज्यसंयन्त्रमा हस्तक्षेप गर्न नयाँ पुस्ताको आगमन आवश्यक : उपप्रधान तथा गृहमन्त्री लामिछाने
वि.सं.२०८१ असार ३० आइतवार १३:२७
shares

काठमाडौं, ३० असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यसंयन्त्रमा हस्तक्षेप गर्न नयाँ पुस्ताको आगमन आवश्यक भएको बताएका छन् ।
आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री लामिछानेले भने-‘जाँदा जाँदै म यति भन्न सक्छु । देशमा परिवर्तन चाहिएको भए, यदि जे चलिरहेको छ त्यो सही भइदिएको भए, जुन संयन्त्र चलिरहेको छ त्यही नै भइदिएको भए हामीले दैनिक गाली गलोज खाएर, आलोचना सहेर, अनेक किसिमका लाञ्छना सहेर यसरी नयाँ पुस्ता आउनुपर्ने थिएन ।’
लामिछानेले थप भने, ‘नयाँ पुस्ता आगमनको व्यक्ति को हुन्छ थाहा छैन तर संयन्त्रका रूपमा राज्य संयन्त्रका रूपमा जर्वजस्त हस्तक्षेप गर्न नयाँ पुस्ताको आगमन भैसकेको छ ।’ त्यसको महसुस प्रहरीलाई पनि होस् भन्दै प्रशासनलाई पनि हुनुपर्ने बताए ।
उनले व्यक्तिका रूपमा आफू फेरि आउने नआउने थाहा नभएको भन्दै अव सङ्केतका रूपमा जसरी चलिरहेको छ त्यसरी नचल्ने बताए । काम गर्ने क्रममा आफ्नो हतारोका कारण कहीँ कतै चोट लागेको भए क्षमा दिन आग्रह गर्दै आफूले केही ख्याति कमाएको भए पनि प्रहरी कर्मचारीको सहयोगकै कारण पाएको बताए ।
‘जस अपजसमा म तपाईँहरूको साथमा छु । तपाई हामी फेरि भेट्छौ’, उनले अब आफू प्रतिपक्षमा जिम्मेवारका साथ प्रस्तुत हुने भन्दै आफूले सम्हालेको गृह मन्त्रलयमा बाहिर बसे पनि २४ सै घण्टा रहिरहने बताए ।

















