यी हुन् ग्लोबल आईएमई बैंकका एक वर्षका उपलब्धि
वि.सं.२०८१ पुस १८ बिहीवार १७:०८
shares

काठमाडौं, १८ पुस । ग्लोबल आईएमई बैंक व्यावसायिक रूपमा सञ्चालनमा आएको बिहीबार (१८ पुस) १८ वर्ष पूरा भएर १९औँ वर्षमा प्रवेश गरेको छ । बैंक बितेका वर्षमा धेरै विकास र समृद्धितर्फ अगाडि बढेको देखिन्छ ।
बैंकले समीक्षा अवधिमा वित्तीय क्षेत्रका लागि उत्साहप्रद नरहँदा पनि आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्न र चुक्ता पुँजी वृद्धि गर्न सफल भएको छ । त्यस्तै, बैंकले निक्षेप संकलनमा वृद्धि गरेको देखिएको छ । बैंकले समीक्षा अवधिमा निक्षेप खातावालाहरूको संख्या पनि बढाएर ५० लाखभन्दा बढी पुर्याएको छ । बैंकले समीक्षा वर्षमा गरेका मुख्यमुख्य उपलब्धिहरू यस्ता छन् ।
बैंकको कारोवार समीक्षा :
रकम रु. करोडमा
| विवरण | असार मसान्त | वृद्धि | ||
| २०८० | रकम | रकम | प्रतिशत | |
| चुक्ता पुँजी | ३५७७.११ | ३५.७७ | ३५.७७ | १.०० |
| कुल निक्षेप | ४३९३४.९१ | ६,५५४.०३ | ६,५५४.०३ | १४.९२ |
| कुल कर्जा | ३७४३५.६४ | १६४१.०३ | १६४१.०३ | ४.३८ |
| लगानी | ९००८.२५ | ३,३३१.९४ | ३,३३१.९४ | ३६.९९ |
| जगेडा तथा कोषहरू | २३२८.२७ | १९९.५७ | १९९.५७ | ८.५७ |
| ऋणपत्र तथा बण्ड | १२२०.०० | (१५०.००) | (१५०.००) | (१२.३०) |
उपरोक्त तालिका अनुसार २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा बैंकको पूँजी, निक्षेप, लगानीमा सन्तोषजनक वृद्धि भएको छ भने कर्जा प्रवाहमा उल्लेख्य वृद्धि हुन सकेको छैन । एफपीओ जारी गर्दा तथा हकप्रद शेयर जारी पश्चात लिलाम गरी बिक्री गरिएका शेयरबाट संकलन गरिएको शेयर प्रिमियमको रकम र निकायहरु एक आपसमा गाभिँदा, शेयर स्वापको कारण गाभिनु पूर्वको पूँजी र गाभिए पश्चात कायम भएको पूँजीको भिन्नताको रकम (पूँजीगत जगेडा कोष) बाट आर्थिक वर्ष २०७८/७९ सम्म हिताधिकारीलाई वितरित लाभाँश रकमलाई कर प्रयोजनको लागि आयमा समावेश गरी कर दाखिल गर्नुपर्ने विवाद सम्मानित सर्वोच्च अदालतसम्म पुगि, पुँजीगत जगेडा रकम र शेयर प्रिमियमको रकम समेतमा एकमुष्ठ एक अर्ब बत्तिस करोड उनान्चालिस लाख एकसठ्ठी हजार तीनसय एकासी) थप रकम करको रूपमा सरकारलाई बुझाउन परेकोले बैंकको जगेडा तथा कोषको रकममा प्रभाव पर्न गएको छ ।
बैंकको सञ्चालन नतिजा:
आर्थिक वर्ष २०८०/८१ मा बैंकले सञ्चालन मुनाफा ८८६.७३ करोड र कर पछिको मुनाफा ६१३.७४ करोड हासिल गर्न सफल भएको छ । २०८०/०८१ मा बैंकको सञ्चालन मुनाफाको संक्षिप्त विवरण निम्नानुसार रहेको छ ।
| विवरण | आर्थिक वर्ष | वृद्धि | ||
| २०७९र०८० | २०८०र०८१ | रकम | प्रतिशत | |
| ब्याज आम्दानी | ४,८२१.०१ | ५,१६८.०० | ३४६.९९ | ७.२० |
| ब्याज खर्च | ३,११०.३१ | ३,४८२.३७ | ३७२.०६ | ११.९६ |
| खुद ब्याज आम्दानी | १,७१०.७० | १६८५.६३ | (२५.०७) | (१.४७) |
| फि शुल्क तथा सञ्चालन आम्दानी | ३४४.२३ | ४५६.९९ | ११२.७७ | ३२.७६ |
| कर्मचारी तथा सञ्चालन खर्च | ७८५.७६ | ८९४.२३ | १०८.४७ | १३.८० |
| सम्भावित नोक्सानी व्यवस्थामा हेरफेर | ३४२.६१ | ३६१.६६ | १९.०५ | ५.५६ |
| सञ्चालन मुनाफा | ९२६.५५ | ८८६.७४ | (३९.८१) | (४.३०) |
| आयकर खर्च | २५७.१२ | २७२.९९ | १५.८८ | ६.१७ |
| खुद मुनाफा | ६६९.४४ | ६१३.७५ | (५५.६९) | (८.३२) |
आर्थिक वर्ष २०८०/०८१ मा बैंकको खुद व्याज आम्दानी गत वर्ष भन्दा २५ करोडले कमी भएको छ भने फि शुल्क तथा सञ्चालन आम्दानीमा भने ११२.७७ करोडले वृद्धि भएको छ । त्यस्तै, सञ्चालन खर्च तर्फ पनि १०८.४६ करोडले वृद्धि भएको छ ।
समीक्षा अवधिमा बैंकको खुद मुनाफामा ५५.६९ करोडले कमी आएको छ । कर्जाको न्यून माग, अधिक तरलता र अपेक्षा अनुसारको कर्जा तथा ब्याजको असुली नभएका कारणले गत आर्थिक वर्ष जस्तै यस आर्थिक वर्षमा पनि बैंकको खुद मुनाफामा संकुचन आएको छ ।
यस आर्थिक वर्षमा बैंकको कुल कर्जा ४.३८ प्रतिशत तथा निक्षेपमा १४.९२ प्रतिशतले बढोत्तरी भयो । निक्षेपका दरहरुमा उल्लेखनीय रुपमा कमी आए पनि निक्षेपको आकार बढ्दा र कर्जाको न्यून बढोत्तरीले खुद ब्याज आम्दानीमा प्रत्यक्ष असर पुर्याएको छ । यसको अतिरिक्त गत वर्ष जस्तै यस आर्थिक वर्षमा पनि कर्जा असुलीमा केही समस्या देखिएकोले थप कर्जा नोक्सानीको व्यवस्था गर्नु परेको कारण सञ्चालन मुनाफामा कमी आएको छ । सञ्चालन आम्दानीको बढोत्तरी तथा सञ्चालन खर्चमा गरिएको नियन्त्रणले मुनाफालाई सन्तुलनमा राख्न टेवा पुर्याएको छ ।
शेयरधनीहरूलाई लाभांश:
आर्थिक वर्ष २०८०/०८१ समग्र बैंकिङ तथा वित्तीय क्षेत्रका लागि उत्साहप्रद वर्ष रहेन । त्यसका बावजुद पनि ग्लोबल आईएमई बैंकले सो आवको वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोषसमेतबाट शेयरधनीहरूलाई चुक्ता पुँजी (३६,१२,८७,७०,२५२) को ५.५ प्रतिशत अर्थात् १ अर्ब ९८ करोड ७० लाख ८२ हजार ३ सय ६३ रुपैयाँ लाभांश बोनस शेयरको रूपमा वितरण गर्ने प्रस्ताव गरेको छ ।
यो वर्ष विभिन्न व्यवसायमा परेको प्रतिकूल असरका कारण कर्जा असुलीमा शिथिलता आई कर्जा नोक्सानीबापतको रकम बढेको, शेयर प्रिमियम तथा मर्जर वा प्राप्तिमा शेयर आदान प्रदानको भिन्नता रकमलाई आयको रूपमा गणना गरी यसै अवधिमा एकैपटक ठुलो रकम करको रूपमा नेपाल सरकारलाई दाखिल गर्नुपर्ने अवस्था आइपरेकाले बैंकको वितरणयोग्य मुनाफामा प्रत्यक्ष असर पर्न गएको बैंकको भनाइ छ ।
चुक्ता पुँजीको ५.५ प्रतिशत बोनस शेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५२ हजार ६ सय १५ रुपैयाँ पुग्नेछ । यसबाट बैंकको पुँजीगत संरचना अझ सुदृढ भई सम्बन्धित सबै पक्षको विश्वास बढ्न जाने र व्यवसाय विस्तारमा पनि सहयोग पुग्नेमा बैंक विश्वस्त देखिन्छ ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासको प्रगति:
चालु आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा बैंकको निक्षेपमा २४.५१ अर्बले वृद्धि भई ५२९.३८ अर्ब पुगेकोे छ, भने कर्जा लगानी तर्फ पनि २७.८६ अर्बले वृद्धि भई ४१८.६३ अर्ब पुगेकोे छ । चालु वर्षको प्रथम त्रैमास अवधिमा बैंकले १५१ करोड भन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तमा बैंकको निष्कृय कर्जा ४.६७ प्रतिशत कायम भएकोले कर्जा असुलीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने र आगामी दिनमा कर्जाको गुणस्तरमा विशेष ध्यान दिँदै अगाडी बढ्नु पर्ने अवस्था रहेको छ ।
बैंकका अहिलेसम्मका सामाजिक उपलब्धि:
१९औँ वर्षमा हिँड्दै गर्दासम्म बैंकले अहिलेसम्ममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट विभिन्न फरकफरक विधामा सम्मान प्राप्त गरेको छ । यस बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, सन् २०२२ मा युरोमनी अवाड्र्स, द बेस्ट बैंक इन नेपाल, बेस्ट इम्प्लोयरजस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरी अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफूलाई स्थापित गरिसकेको छ ।
विश्वमै ख्यातिप्राप्त युरोमनी म्यागजिनले प्रत्येक वर्ष वित्तीय क्षेत्रका विशेषज्ञहरूबाट गहिरो अध्ययन तथा विश्लेषण गरीरगराई तोकिएको मापदण्ड पूरा गर्ने बैंकहरूलाई विविध विधामा अन्तर्राष्ट्रियस्तरको युरोमनी अवाड्र्स प्रदान गर्ने गर्छ । त्यस्तै, ग्लोबल आईएमई बैंकले ‘द बेस्ट बैंक इन नेपाल २०२४/ बेस्ट बैंक फर ईएसजी (इन्भाइरान्मेन्टल, सोसल एन्ड गभन्र्यान्स) अवार्डबाट पनि सम्मानित भएको छ ।
त्यसैगरी, ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्स, बेस्ट बैंक अवार्ड २०२४ बाट पनि सम्मानित भएको छ । विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङलगायतका मापदण्डहरूमा यो बैंक सन् २०२४ का लागि नेपालको उत्कृष्ट बैंक भएको हो । ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंकसमेत हो ।
धेरै विप्रेषण भित्र्याउने बैंकको रूपमा सम्मानित:
ग्लोबल आईएमई बैंक आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी अर्थात् २१ दशमलव १ प्रतिशत रेमिट्यान्स भित्र्याउने बैंकको रूपमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाहरूलाई सो सम्मान प्रदान गर्दै आएको छ ।
निक्षेप ग्राहक संख्या ५० लाख नाघ्यो:
बैंकको ग्राहक सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको छ । हाल यस बैंकको निक्षेप ग्राहक सङ्ख्या ५० लाखभन्दा बढी पुगेको बैंकको तथ्यांकले देखाएको छ । मर्जर तथा व्यवसायको निरन्तर विस्तारका कारण वृद्धि हुँदै गइरहेको बैंकको ग्राहक सङ्ख्यामा निरन्तर वृद्धि कायम राख्दै ग्राहक सेवालाई अझै प्रभावकारी बनाउँदै लैजाने नीति बैंकले अवलम्बन गरेको छ ।
कार्यालय सञ्जाल:
ग्लोबल आईएमई बैंकले ग्राहक वर्गको हितलाई ध्यानमा राख्दै सरल, सहज र बहुउपयोगी बैंकिङ सेवाहरू उपलब्ध गराउन मुलुकका सातवटै प्रदेशमा गरी ३५४ वटा शाखा कार्यालय पु¥याएको छ । त्यस्तै, ६८ वटा एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २३७ वटा शाखारहित बैंकिङ सेवा, ३८४ वटा एटीएम, विदेशस्थित भारतको नयाँ दिल्ली, संयुक्त अधिराज्य (यूके) र अस्ट्रेलियामा समेत गरी ३ स्थानमा प्रतिनिधि कार्यालय सञ्चालनमा रहेका छन् ।
त्यस्तै, यस बैंकका सातवटै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरी सोमार्फत सम्बन्धित प्रदेशका शाखाहरूको समन्वय, निरीक्षण र सहजीकरणको कार्य हुँदै आएको छ ।
प्रविधिमा ग्लोबल आईएमई बैंक:
ग्लोबल आईएमई बैंकले समयसापेक्ष विभिन्न प्रविधि भित्र्याई आफ्ना ग्राहकहरूलाई छिटो छरितो र भरपर्दो बैकिङ सेवा दिइरहेको छ । बैंकले ग्राहकको प्रत्यक्ष उपस्थिति बिना नै धेरै किसिमका सेवाहरू डिजिटलको माध्यमबाट उपलब्ध गराइरहेको छ ।
त्यस्तै, समय र पैसा बचत गरी मानव संसाधनको लागत समेत घटाउँदै लैजाने नीतिबमोजिम समीक्षा अवधिमा बैकले प्रविधिमा आधारित र स्वचालित कस्टमर सेन्ट्रिक बीपीएम ९बिजनेस प्रोसेस म्यानेजमेन्ट० सफ्टवेयर जडान गरी सफलतापूर्वक काम भइरहेको छ । त्यस्तै, कर्मचारीको प्रत्यक्ष संलग्नताबिना नै नगद कारोबार हुने क्यास डिपोजिट मेसिन एवं आउटवार्ड चेक एसेप्ट गरी क्लियरिङमा पठाउने चेक डिपोजिट किओस्कसहितको डिजिटल युनिभर्स काठमाडौंको कमलादी लगायत अन्य विभिन्न शाखाहरूमा सञ्चालनमा ल्याएको छ ।
त्यस्तै, समीक्षा वर्षमा बैंकिङ सेवाका अत्यावश्यक उपकरणहरू, सफट्वेयर डाटा, नेटवर्क, तथ्य तथ्याङ्कहरूको साइबर सुरक्षासँग सम्बन्धित इन्डपोइन्ट सेक्युरिटी लाइसेन्स खरिद गरी कार्यान्वयनमा ल्याएको छ । बैंकले कल सेन्टर सोलुसनलाई थप परिष्कृत गर्दै १८ घण्टाबाट २४ सै घण्टामा विस्तार गर्ने भएको छ ।
बैंकले जवाफदेही र उत्तरदायी बैंकिङ समाधानका लागि आर्टिफिसियल इन्टलिजेन्स प्रयोगमा ल्याएको छ । बैंकको सञ्चालन दक्षता अभिवृिद्धका साथै दोहोरिने कार्य न्यूनीकरणका लागि रोबोटिक प्रक्रिया स्वचालन(आरपीए) को प्रयोग गरिएको छ । सोबाहेक बैंकले आन्तरिक प्रक्रिया छिटो र प्रविधिमैत्री बनाउन विभिन्न एप्लिकेसनको विकास गरी कार्यान्वयनमा ल्याएको छ, जसबाट बैंकका सेवाको गुणस्तरमा अभिवृद्धि भएको छ । त्यस्तै, बैंकले मोबाइल बैकिङ एप्लिकेसनमा विभिन्न विशेषताहरू थप गरी सहज र परिस्कृत बनाएको छ । बैंकले कोर बैंकिङ सिस्टमलाई फिनाकल भर्सन १० मा अपग्रेड गरेको छ ।
राष्ट्रिय अर्थतन्त्रमा योगदान:
राष्ट्रिय कर दिवस २०८० को अवसरमा बैंक तथा वित्तीय संस्था तर्फ सबैभन्दा बढी आय कर दाखिलागर्ने बैंकको रूपमा नेपाल सरकार, आन्तरिक राजश्व विभागले ग्लोबल आईएमई बैकलाई सम्मानित गरेको छ । समीक्षा वर्षमा बैंकले नेपाल सरकारलाई संस्थागत आयकर र स्रोतमा कर कट्टी गरी ६ अर्बभन्दा बढीको योगदान गरेको छ । व्यावसायिक सेवा सञ्जालको विस्तारले छरिएर रहेको पुँजी सङ्कलन गरी अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको औद्योगिक क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान गरेको छ । यसको अतिरिक्त नियमित र सेवा सम्झौतामार्फत ३,८०० जनाभन्दा बढी नेपाली नागरिकहरूलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ ।
सामाजिक उत्तरदायित्व:
संस्थागत नागरिक (कर्पोरेट सिटिजन) हुनुको नाताले समाजप्रतिको जिम्मेवारीमा बैंक प्रतिबद्ध रहेको छ । सामाजिक परियोजना, वित्तीय साक्षरता, तोकिएको क्षेत्रमा प्रत्यक्ष अनुदानलगायत नेपाल राष्ट्र बैंकबाट तोकिएको क्षेत्रमा तोकिएको रकम खर्च गर्ने उद्देश्यले बैकले संस्थागत सामाजिक उत्तरदायित्व नीति नै कार्यान्वयनमा ल्याएको छ ।
बैंकले १७ कात्तिक २०८० मा जाजरकोटररुकुमपश्चिममा आएको विनाशकारी भूकम्पबाट पीडित सर्वसाधारणका प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सक्दो सहयोग गरेको छ । फरक क्षमताका बालबालिकाको बौद्धिक, सामाजिक र भावनात्मक विकासमा प्रोत्साहित गर्ने उद्देश्यले सैनिक कल्याणकारी कोषबाट काठमाडौंको छाउनीमा स्थापना भएको दिवा विद्यालयलाई, सामाजिक अन्याय र विभेदविरुद्धको लोकप्रिय टेलिभिजन कार्यक्रम ऐना सिजन( २ लाई, महिला, जनजाति, अल्पसंख्यक पिछडिएको वर्ग वा समुदाय तथा द्वन्द्धपीडित केन्द्रित वित्तीय सचेतना, मधेशका समसामयिक विषय, सामाजिक घटना, बालविवाह, शिक्षामा पहुँच विस्तार, मिटर ब्याजविरुद्धको अभियानको लोकप्रिय टेलिभिजन शो दलानलाई, राष्ट्रव्यापी वित्तीय सचेतना कार्यक्रमका लागि बैंकले सक्दो आर्थिक सहयोग गरेको छ ।
त्यसैगरी, निःशुल्क नारी स्वास्थ्य शिविर, शिक्षा, स्वास्थ्य, खेलकुद, महामारी नियन्त्रण, वातावरण संरक्षणलगायतका शीर्षकहरूमा समेत गरी आर्थिक वर्ष २०८०/८१ मा कुल ७ करोड १९ लाख रुपैयाँ सहयोग गरेको छ । त्यस्तै, चालु आर्थिक वर्षमा नेपालका विभिन्न ठाउँमा बाढीपहिरोबाट पीडित जनतालाई सहयोग गर्न बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ४ करोड ५० लाख रुपैयाँ प्रदान गरेको थियो ।
भावी कार्यक्रम:
आगामी दिनमा ग्राहकहरुलाई उत्कृष्ट, विश्वासिलो, भरपर्दो सेवा प्रदान गर्ने, शेयरधनीहरुलाई उचित प्रतिफल दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको साखमा अभिवृद्धि हुने र अग्रिणी बैंकको रुपमा स्थापित गर्ने गरी भावी कार्यक्रमहरु सञ्चालन गरिने छ । बैंकले ग्राहकमैत्री अत्याधुनिक डिजिटल नवप्रवद्र्धन सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ र भविष्यमा समेत थप आयामहरु समेटी ग्राहकलाई प्रभावकारी सेवा पु¥याउने लक्ष्य लिएका छौँ । भरपर्दो र विश्वासिलो डिजिटलमा आधारित सर्वसुलभ बैंकिगले सेवाग्राही र सेवा प्रदायक दुवैको समय र पैसा बचत हुनुको साथै बैंकको मानव संशाधनको लागत समेत घट्न जाने विश्वास रहेको छ । आधुनिक प्रविधिमा आधारित व्यावसायिक सेवाबाट बैंकको दीर्घकालिन मजबुतिकरणमा मदत पुगि शेयरधनीहरुलाई उच्चतम प्रतिफल तथा सुरक्षित लगानीको अनुभूति दिलाउने अपेक्षा गरिएको छ ।

















