Dhulikhel Eco Banner new

कालोसूचीमा परे १० निर्माण कम्पनी

2.44K
shares

काठमाडौं, २८ फागुन । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले बुधवार सार्वजनिक सूचना जारी गरी बुधवारदेखि लागु हुने गरी दुई कम्पनीलाई डेढ वर्ष र अन्यलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।

कालोसुचिमा पर्नेहरुमा  गणेश तङनामी मुख्य व्यक्ति भएको तारालक्ष्मी निर्माण सेवा गुल्मी र अनिल बस्नेत मुख्य व्यक्ति भएको ममता मञ्जु कन्स्ट्रक्सन प्रालि रहेका छन् ।  यी दुई कम्पनीलाई १ वर्ष ६ महिनाका लागि कालोसचिमा राखिएको हो । उनीहरुलाई कालोसूचीमा राख्न गुल्मीको धुर्कोट गाउँपालिका कार्यालयले सिफारिस गरेको थियो ।

त्यस्तै कालोसुचिमा पर्नेहरुमा सनम निर्माण सेवा संखुवासभा, निर्जरा निर्माण सेवा सभापोखरी गाउँपालिका कार्यालयको सिफारिसको आधारमा एक वर्ष कालोसूचीमा परेका छन् । अशोक गैरे नेतृवको इन्द्रेणी बिल्डर्स एण्ड सप्लायर्स प्रालि  कालोसूचीमा परेको छ । यसलाई कालोसूचीमा राख्न डोटीको शिखर नगरपालिका – ९ स्थित सीताराम माविले सिफारिस गरेको थियो ।

त्यसैगरी सशस्त्र प्रहरी बलको ९ नम्बर गण हेडक्वाटर महोत्तरीको सिफारिसमा जी.एस. निर्माण संसार कम्पनी र कमन कन्स्ट्रक्सन पनि एक वर्षका लागि कालोसूचीमा परेका छन् । जी.एस. निर्माण संसार कम्पनीका मुख्य व्यक्ति गोपाल प्रसाद दाहाल र कमन कन्स्ट्रक्सनका मुख्य व्यक्ति कमान सिंह लामा हुन् ।

यसैगरी भिमबहादुर सावद नेतृत्वको राजेन्द्र निर्माण सेवा, रविन कुमार जोशी नेतृत्वको रफिना एण्ड कन्स्ट्रक्सन र सुरेश कुमार सिलवाल नेतृत्वको राम निर्माण कन्स्ट्रक्सन पनि एक वर्षका लागि कालोसूचीमा परेका छन् । यी कम्पनीलाई कालोसूचीमा राख्न पुरातत्व विभागले सिफारिस गरेको थियो ।

यी कम्पनीहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।