Dhulikhel Eco Banner new

डिप्रोक्स लघुवित्तको नाफामा ७१ प्रतिशत वृद्धि, अन्य सूचक कस्तो ?

2K
shares

काठमाडौं, १६ वैशाख । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा ३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त खुद नाफा अघिल्लो वर्षको सोही अवधिमा भएको ७१ प्रतिशतले बढी हो।

नाफा वृद्धि भएपछि कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि सुधार भएको छ। अघिल्लो वर्षको १९ रुपैयाँ ७७ पैसाको तुलनामा यस वर्ष ईपीएस ३० रुपैयाँ ८४ पैसामा उक्लिएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ५१ पैसा रहेको छ।

समीक्षा अवधिमा डिप्रोक्सको खुद ब्याज आम्दानी करिब ९८ करोड रुपैयाँबाट बढेर करिब १५० करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि ३७ करोड ४१ लाख रुपैयाँबाट बढेर ६३ करोड १६ लाख रुपैयाँमा पुगेको देखिन्छ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा ३६ करोड १६ लाख रुपैयाँ रहेको छ भने रिजर्भमा १ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी रकम सञ्चित गरिएको छ।

डिप्रोक्सले ११ अर्ब ७७ करोड रुपैयाँ सापटी लिएर २५ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ। निक्षेप संकलन १० अर्ब रुपैयाँ नाघेको छ।

 समीक्षावधिमा खराब कर्जा अनुपात (एनपीए) ८.२५ प्रतिशतबाट बढेर ८.६६ प्रतिशत पुगेको छ। साथै, वितरणयोग्य नाफा (लाभांश क्षमता) करीब ३८ करोड रुपैयाँबाट घटेर ३६ करोड १६ लाख रुपैयाँमा झरेको छ।