Dhulikhel Eco Banner new

नेपाल प्रहरीमा नेतृत्व विकासको ऐतिहासिक यात्रा सुरु

4.5K
shares

काठमाडौं, २१ वैशाख नेपाल प्रहरी संगठनको भावी नेतृत्व निर्माणका लागि थालनी गरिएको पुलिस लिडरसिप एण्ड स्टाफ कोर्ष पहिलो कार्यक्रमको भव्य उद्घाटन गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा सम्पन्न भएको छ ।

यो पाठ्यक्रम मास्टर अफ पुलिस साईन्स (एमपिएस) कार्यक्रम अन्तर्गत समावेश गरिएको हो ।गृहमन्त्री लेखकले पानसमा दीप प्रज्वलन गर्दै कोर्सको औपचारिक उद्घाटन गरेका थिए । आफ्नो मन्तव्यको क्रममा उनले नेपाल प्रहरीको गौरवपूर्ण इतिहासको चर्चा गर्दै, आधुनिक युगअनुसार संगठनमा आधुनिकीकरणको थालनी भएको उल्लेख गरे ।

उनले भने, “नेपाल प्रहरीको योगदान राष्ट्रको सेवामा समर्पित छ । आजको दिन प्रहरी संगठनको लागि ऐतिहासिक उपलब्धि हो ।”

उनले नेतृत्व विकासका लागि आवश्यक पर्ने क्षमता, सीप, व्यावसायिकता, इमानदारी र प्रतिवद्धताको महत्त्वलाई जोड दिँदै विश्वव्यापीकरण र सामाजिक रूपान्तरणका नयाँ चुनौतीहरूसँग जुध्न परम्परागत पद्धतिले मात्र पुग्दैन भनी स्पष्ट पारे । यस्तो कोर्सले ती चुनौतीको पहिचान र समाधान दुवै गर्न मद्दत पुर्‍याउने समेत उल्लेख गरे ।

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले कोर्सलाई नेपाल प्रहरीको नेतृत्व विकासतर्फको युगान्तकारी कदमको रूपमा मूल्याङ्कन गर्दै यसले समाजमा देखा परेका आधुनिक समस्याहरू समाधान गर्न सक्ने दक्ष प्रहरी अधिकृत तयार पार्ने विश्वास व्यक्त गरे ।

प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले प्रविधिगत चुनौती, विशेषतः कृत्रिम बुद्धिमत्ता (एआई) र अन्य डिजिटल प्रणालीबाट उत्पन्न जोखिमहरूलाई सन्तुलित र सक्षम नेतृत्वद्वारा समाधान गर्नुपर्ने आवश्यकता औंल्याउँदै, उनले भने, “उच्च निष्ठा, ज्ञान र सिप सहितको नेतृत्व निर्माणका लागि यो कोर्ष निकै महत्वपूर्ण छ ।”

उनले प्रशिक्षार्थीहरूलाई पूर्ण समर्पण र अनुशासनका साथ कोर्षमा सहभागी हुन आग्रह गर्दै यस कोर्सलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार उन्नत बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका कार्यकारी निर्देशक एआईजी सुदिप गिरीले धन्यवाद मन्तव्य राखेका थिए । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसेले शुभकामना मन्तव्य दिँदै शैक्षिक सहभागिताको उल्लेख गरे भने प्रहरी वरिष्ठ उपरीक्षक बेद विष्टले स्वागत मन्तव्यसहित पाठ्यक्रमको संक्षिप्त विवरण प्रस्तुत गरेका थिए ।

उक्त अवसरमा प्रतिनिधि सभासदस्य एवम् पूर्व प्रहरी महानिरीक्षक ध्रुव बहादुर प्रधान, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकाश प्राप्त प्रहरी प्रमुखहरू, (एमपिएस) सल्लाहकार प्रा.डा. राजिव बिक्रम राणा, नेपाली सेनाका उपरथी, विभिन्न मन्त्रालयका सहसचिवहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरू, सञ्चारकर्मी लगायतको उल्लेखनीय उपस्थिति थियो ।

एमपिएस अन्तर्गतको पुलिस लिडरसिप एण्ड स्टाफ कोर्ष को सुरुवातसँगै नेपाल प्रहरीको नेतृत्व विकासको यात्राले नयाँ मोड लिएको छ, जसले भविष्यमा उत्तरदायी, दक्ष र दुरदर्शी प्रहरी नेतृत्व सुनिश्चित गर्नेछ ।