कम्पनी दर्ता गर्दा वास्तविक शेयरधनीको विवरण घोषणा गर्नुपर्ने
वि.सं.२०८२ वैशाख २४ बुधवार १२:२४
shares

काठमाडौं, २४ वैशाख । अब कम्पनी रजिस्ट्रारको कार्यालयले कम्पनी दर्ता गर्दा गर्ने बेला नै सबै वास्तविक शेयरधनीको विवरण घोषणा गर्न निर्देशन जारी गरेको छ। कम्पनी रजिष्ट्रारको कार्यालयले मंगलवार सार्वजनिक सूचना जारी गर्दै यस्तो व्यवस्था लागू गरिएको जनाएको हो।
कार्यालयले पहिले दर्ता भइसकेका कम्पनीलाई आफ्ना वास्तविक धनी तथा लाभ लिने व्यक्तिको विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ भने नयाँ दर्ता हुने कम्पनीलाई दर्ताको समयमा नै विवरण घोषणा गर्नुपर्ने प्रावधान ल्याएको छ।
सूचनाका अनुसार, “अब कुनै कम्पनीको शेयरमा स्वामित्व रहने व्यक्तिको विवरण स्पष्ट गर्नुपर्नेछ, चाहे त्यो व्यक्ति प्रत्यक्ष रूपमा शेयर धनी होस् वा परोक्ष रूपमा लाभ लिने व्यक्ति।” विशेष गरी होल्डिङ्स कम्पनीहरूलाई लक्षित गर्दै कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली (सीएएमआईएस) मा यो अनिवार्य व्यवस्था गरिएको बताइएको छ।
सूचनाका अनुसार “यदि कुनै कम्पनीको शेयरमा अरू कुनै व्यक्तिको आंशिक वा पूर्ण हक (बेनेफिसरी) छ भने त्यस्तो व्यक्तिको परिचय, हकको प्रकृति र वास्तविक धनी (बेनिफिसियल ओनर) को विवरण संकलन गर्न अविलम्ब व्यवस्था गर्नुपर्नेछ।”















