बद्री केसी समूहको कनक्लेभमा भाग नलिन एनआरएनए आइसीसीको आग्रह
वि.सं.२०८२ वैशाख ३० मंगलवार ११:४५
shares

काठमाडौं, ३० वैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले बद्री केसी समूहद्वारा काठमाडौंमा आयोजना गर्न लागिएको “एनआरएनए कनक्लेभ” कार्यक्रममा सहभागी नहुन अपील गरेको छ।
आइसीसीका महासचिव बी.आर. लामाद्वारा मंगलवार जारी प्रेस विज्ञप्तिअनुसार, ‘एकता र सद्भावपूर्ण वातावरण निर्माणको प्रयास भइरहेका बेला कुनै पनि पक्षबाट यस्तो वातावरण बिथोल्ने, भ्रम सिर्जना गर्ने वा आपसी विश्वासमा आँच पुर्याउने गतिविधि नगर्न अनुरोध गरिन्छ।’
महेश कुमार श्रेष्ठको नेतृत्वमा हालै सम्पन्न एकता महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई लिएर सर्वोच्च अदालतमा दायर रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरिएको उल्लेख गर्दै विज्ञप्तिमा उक्त कार्यसमिति नै वैधानिक र आधिकारिक भएको पुष्टि भएको बताइएको छ।
“विश्वभर रहेका लाखौँ एनआरएनहरूको भावना, एकता र संस्थागत स्थायित्वको रक्षा गर्न सम्पूर्ण एनआरएनए सदस्य, पदाधिकारी र सम्बन्धित पक्षहरूले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आवश्यक छ,” विज्ञप्तिमा उल्लेख छ ।
विवादको अवस्थामा पनि एकतामूलक संवाद र सहकार्यको बाटो अपनाउन जोड दिँदै महासचिव लामाले ‘एनआरएनए कनक्लेभ’ कार्यक्रमप्रति कुनै औपचारिक मान्यता नरहेको संकेत दिएका छन्।

















