दुर्घटनाग्रस्त एयर इन्डियामा सवार यात्रुको परिचय खुल्यो
वि.सं.२०८२ जेठ २९ बिहीवार १६:३०
shares

काठमाडौं, २९ जेठ । गुजरातको अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको एक विमान उडेको केहीबेरमै दुर्घटनामा परेको छ। विमानमा कुल २४२ जना सवार थिए । जसमा २ जना पाइलट र १० जना केबिन क्रू सदस्य रहेका थिए।
उडानपछि केहीबेरमै विमानले ‘मेडे’ आपतकालीन कल दिएको थियो तर त्यसपछि एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क हुन सकेन। दुर्घटनाग्रस्त विमानका क्याप्टेनसँग ८,२०० घण्टा र सह–पाइलटसँग १,१०० घण्टाको उडान अनुभव रहेको प्रारम्भिक रिपोर्टमा उल्लेख छ।
विमानमा ५३ जना बेलायती, १६९ जना भारतीय, १ जना क्यानडाली र ७ जना पोर्चुगाली नागरिक सवार थिए। दुर्घटनास्थलमा अहिले उद्धार कार्य तीव्र गतिमा भइरहेको छ। एम्बुलेन्सहरू चारैतिर पुगेका छन् भने आपतकालीन उद्धार टोलीहरू आगो निभाउने प्रयासमा व्यस्त छन्।
घटनाबारे विस्तृत अनुसन्धान सुरु भइसकेको छ भने मृतक र घाइतेहरूको आधिकारिक विवरण सार्वजनिक हुन अझै बाँकी छ।

















