Dhulikhel Eco Banner new

गीताप्रेस नेपालको प्रथम दशकको गौरवमय उत्सव सम्पन्न

2.42K
shares

काठमाडौं, २९ जेठ । नेपालमा स्थापित गीताप्रेस गोरखपुरको अन्तर्राष्ट्रिय शाखा ‘गीताप्रेस नेपाल’ले आफ्नो प्रथम दशक पूरा गरेको अवसरमा एक भव्य समारोह आयोजना गर्दै विभिन्न आध्यात्मिक एवं प्रविधिमैत्री योजनाहरु सार्वजनिक गरेको छ।

पशुपति क्षेत्रस्थित माधव राज सुमार्गी स्मृति भवनमा सम्पन्न कार्यक्रममा श्रीलिङ्ग महापुराण र श्रीमत्स्य महापुराणको नेपाली भाषामा अनुवाद विमोचन गरिनुका साथै गीताप्रेस नेपालको वेबसाइट(www.gitapressnepal.org), मोबाइल एप्स र डिजिटल प्ल्याटफर्महरू पनि लन्च गरेको हो ।

कार्यक्रमको अध्यक्षता गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौंका अध्यक्ष श्री जय किसन साडाज्यूले गरे भने प्रमुख अतिथिका रूपमा गीताप्रेस गोरखपुरका प्रवन्धक डा. लालमणि तिवारी, विशिष्ट अतिथिका रूपमा भगवान् पशुपतिनाथका मूल भट्ट गणेश रावल भट्ट तथा मानव सेवा आश्रमका संरक्षक डा. गोविन्द टण्डन उपस्थित थिए। गीता परिवार नेपालकी अध्यक्ष्य सारिका अग्रवालले पनि विशेष मन्तव्य दिए ।

कार्यक्रममा अध्यक्ष जय किसन साडाले २०७३ जेष्ठ २९ गते ९११ जुन २०१६० स्थापना भएको गीताप्रेस नेपालले आजसम्मको यात्रामा पुर्‍याएको योगदान र सफलताको संक्षिप्त विवरण प्रस्तुत गर्दै, आगामी योजनाहरूमा “गीता भवन” निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी दिए । सो भवनले पुस्तकमात्र नभई डिजिटल माध्यमबाट पनि सत्साहित्यको प्रचार प्रसार गर्ने उद्देश्य लिएको छ।

डा. लालमणि तिवारीले गीताप्रेसको १०२ वर्षको ऐतिहासिक सेवा र नेपालमा यसको शाखाबाट विश्वभरका नेपाली भाषीहरूलाई आध्यात्मिक ग्रन्थहरू प्रदान गर्न सकिएकोमा सन्तोष व्यक्त गर्दै यो अभियान अझ व्यापक बनाउने प्रतिबद्धता जनाए।

विशिष्ट अतिथि डा. गोविन्द टण्डनले नेपालमा गीताप्रेसको स्थापनामा आफ्नो प्रारम्भिक संलग्नताको सम्झना गर्दै “गीता भवन”को लागि सहयोगका लागि सबैलाई आग्रह गरे।

कार्यक्रममा “घर–घर गीता — हाम्रो अभियान” अन्तर्गत नेपाली भाषामा सरल गीता हजारौं विद्यार्थीलाइ निःशुल्क वितरण गरिएको पनि घोषणा गरियो। यस अभियानको संयोजन डा. वासुदेवकृष्ण शास्त्रीले गरेका हुन् ।

कार्यक्रममा ६० भन्दा बढी सत्साहित्य नेपालीमा अनुवाद गराउने अभियानमा योगदान पुर्‍याउने विद्वानहरू— प्रा. शिव गोपाल रिसाल, डा. गोविन्द टण्डन, डा. काशीनाथ न्यौपाने, आचार्य लक्ष्मण भण्डारी, प्रा. पदमप्रसाद भट्टराई, स्व. विष्णुराज आत्रेय, केदारनाथ दास र माहेश्वर खनालप्रति पनि विशेष आभार प्रकट गरियो।

कार्यक्रमको सञ्चालन यदुनन्दन भारद्वाजले गरेका थिए भने धन्यवाद ज्ञापन गीताप्रेस नेपालका उपाध्यक्षईश्वरी प्रसाद रिमालले गरे।