Dhulikhel Eco Banner new

राससमा महाप्रबन्धक नियुक्तिका लागि दरखास्त खुला, हेर्नुस् कति चाहिन्छ योग्यता ?

2.09K
shares

काठमाडौं, १ असार । राष्ट्रिय समाचार समिति (रासस)को महाप्रबन्धक पदमा नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको छ। आइतवार सार्वजनिक सूचनामार्फत मन्त्रालयले आवश्यक योग्यता र शर्तसहित इच्छुक उम्मेदवारलाई तोकिएको म्यादभित्र दरखास्त दिन आग्रह गरेको हो।

सूचनाअनुसार, दरखास्त दिन चाहने उम्मेदवारले न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनु अनिवार्य छ।

महाप्रबन्धक पदका लागि उम्मेदवारले पत्रकारिता वा आम सञ्चार क्षेत्रमा कम्तीमा ७ वर्षको अनुभव रहेको हुनुपर्नेछ। यसका साथै सञ्चारमाध्यममा प्रधान सम्पादक, सम्पादक, प्रकाशक वा व्यवस्थापकका रूपमा काम गरेको, वा आम सञ्चार सम्बन्धी प्राज्ञिक तथा नीति निर्माण तहमा रहेर काम गरेको अनुभव भएको हुनुपर्ने मापदण्ड राखिएको छ।

सरकारी सेवा, सार्वजनिक संस्थान वा सार्वजनिक कम्पनीमा कार्यरत वा अवकाशप्राप्त व्यक्तिले दरखास्त दिन चाहेमा, कम्तीमा अधिकृतस्तरको पदमा काम गरेको हुनुपर्नेछ। साथै पत्रकार आचारसंहिता उल्लंघनको कारण सजाय नपाएको प्रमाणित हुनुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ।

इच्छुक उम्मेदवारले शैक्षिक प्रमाणपत्र, अनुभव विवरण, बायोडाटा र ५ पृष्ठ लामो व्यावसायिक कार्ययोजना संलग्न गरेर दरखास्त दिनुपर्नेछ। महाप्रबन्धक पदको कार्यकाल ४ वर्षको हुने मन्त्रालयले जनाएको छ।

दरखास्त संकलनपछि छनोट प्रक्रिया सुरु हुनेछ। नाम सिफारिस समितिबाट छानिएपछि अन्तिम नियुक्ति मन्त्रिपरिषद्ले गर्नेछ।

सञ्चार क्षेत्रका अनुभवी सिद्धराज राईको कार्यकाल सकिन लागेको सन्दर्भमा नयाँ नियुक्तिका लागि दरखास्त आह्वान गरिएको हो।