थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित
वि.सं.२०८२ असार १७ मंगलवार १५:५६
shares

काठमाडौं, १७ असार । थाइल्यान्डकी प्रधानमन्त्री पेटोंगटन सिनावात्रा मंगलबार पदबाट निलम्बित भएकी छन्। कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनसँगको गोप्य फोन वार्ताले उत्पन्न विवादपछि देशको संविधान अदालतले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो।
उनीमाथि सरकारी आचारसंहिता उल्लंघनको आरोपमा छानबिन सुरु गरिएको छ। ३८ वर्षीया सिनावात्राले १० महिनाअघि मात्रै प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। तर ३६ जना सांसदहरूको संयुक्त निवेदनपछि अदालतले अन्तरिम रूपमा उनलाई पदबाट हटाएको हो।
अन्तिम फैसला नभएसम्म उनी प्रधानमन्त्रीको हैसियतमा काम गर्न सक्दिनन्। यद्यपि, हालैको मन्त्रीपरिषद् फेरबदलअनुसार उनी संस्कृति मन्त्रीको रूपमा कार्यरत रहनेछिन्। विवादको केन्द्रमा रहेको फोन संवादमा सिनावात्राले हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गर्दै आफ्नै देशको सेनाको आलोचना गरेकी थिइन्। यसले थाइल्यान्डमा व्यापक आलोचना र राष्ट्रहित विपरीत आचरणको आरोप जन्माएको छ।
घटनापछि सरकारको प्रमुख गठबन्धन साझेदार भुमजैथाई पार्टी ले सत्तारूढ गठबन्धन छाडेको घोषणा गरेको छ, जसले सिनावात्रा नेतृत्वको फेउ थाइ पार्टी को बहुमतमा संकट निम्त्याएको छ। यसैबीच संसद्मा अविश्वास प्रस्ताव पेस हुने तयारी भइरहेको छ भने शनिबार राजधानी बैंककमा सरकारविरुद्ध प्रदर्शनसमेत भएको थियो।
सिनावात्राले फोनकलबारे स्पष्टीकरण दिँदै यसलाई ‘शान्ति स्थापनाको पहलस्वरूप गरिएको निजी संवाद’ को रूपमा व्याख्या गरेकी छन्। एक पत्रकार सम्मेलनमा उनले भनिन्, “मैले देशको हित, सेनाको सुरक्षाका लागि र राष्ट्रिय शान्तिका लागि यो कदम चालेकी हुँ। मेरो मनसाय १०० प्रतिशत देशको लागि नै थियो।”
थाइल्यान्ड र कम्बोडियाबीचको ८१७ किलोमिटर लामो सीमा विगतमा बारम्बार द्वन्द्वको कारक बनिरहेको छ। पछिल्लो सिमा झडपमा एक कम्बोडियन सैनिकको ज्यान गएको घटनाले द्विपक्षीय सम्बन्धलाई थप संवेदनशील बनाएको छ।



















