निष्क्रिय कर्जा, कालोसूचीका ऋणी र गैरबैंकिङ सम्पत्ति बढ्दै गएको छः डेपुटी गभर्नर ढुंगाना
वि.सं.२०८२ साउन ११ आइतवार १२:४८
shares

काठमाडौं, ११ साउन। नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले पछिल्लो समय नेपालको अर्थतन्त्रको अधिकांश सूचकमा सुधार देखिएको बताएकी छिन्। इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको फ्युचर बैंकिङ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताइन् ।
उनले डिजिटल बैंकिङ प्रणालीसँगै आर्थिक कारोबार सहज भए पनि वित्तीय अनुशासन र जोखिम व्यवस्थापनमा अझै ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन्।
‘मौद्रिक नीति आयो, बजेट आयो र दुबैमा बैंकिङ क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।’ उनले भनिन, ‘अहिले कारोबार गर्न सजिलो भएको छ, तर सजिलोसँगै खर्च पनि बढिरहेको छ।’
“पहिले बैंकमा जोखिम देखिँदा मानिसहरूको घण्टौं लाइन लाग्थ्यो, अहिले भने मोबाइल बैंकिङले धेरै कुरा सजिलो बनाएको छ,” उनले भनिन्, “तर डिजिटल बैंकिङको विस्तारसँगै त्यसको जोखिम व्यवस्थापनमा पनि गम्भीर ध्यान दिनुपर्छ, अहिले यही विषयमा गहिरो अध्ययन भइरहेको छ।”
अहिलेको अवस्था मूल्यांकन गर्दा बैंकहरूमा निष्क्रिय कर्जाको मात्रा बढिरहेको छ। साथै गैरबैंकिङ सम्पत्तिको वृद्धि र कालोसूचीमा पर्ने ऋणीहरूको संख्या समेत बढ्दो क्रममा छ, जसप्रति समयमै ध्यान दिन जरुरी रहेको समेत उनले उल्लेख गरिन्।
बैंकर र व्यवसायीको भूमिका छुट्याउने विषयमा समेत हाल छलफल भइरहेको उल्लेख गर्दै उनले थपिन्, “वित्तीय प्रणालीको विश्वसनीयता कायम राख्न सबैतर्फबाट उत्तरदायी भूमिका आवश्यक छ।”














