राष्ट्र बैंकले लेखापरीक्षण प्रतिवेदनको ढाँचा हेरफेर
वि.सं.२०८२ भदौ ३ मंगलवार १०:१४
shares

काठमाडौं, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले तयार गर्ने लङ फर्म अडिट रिपोर्टको ढाँचा परिमार्जन गरेको छ। सोमबार एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गरी नयाँ ढाँचा ल्याएको हो ।
संशोधित ढाँचाअनुसार अब लेखापरीक्षकले कर्जा जोखिम, गैरबैंकिङ सम्पत्तिको अवस्थिति, पर्यावरण एवं सामाजिक जोखिम व्यवस्थापन, तथा जोखिम व्यवस्थापन समितिबारे स्पष्ट राय दिनुपर्नेछ। साथै, सञ्चालन जोखिम, विशेष गरी आईटी र साइबर सेक्युरिटी जोखिमबारे समेत लेखापरीक्षण प्रतिवेदनमा समावेश गर्नुपर्नेछ।
नयाँ ढाँचामा आन्तरिक नियन्त्रण प्रणाली अन्तर्गत कम्प्लायन्स फंक्शन, राष्ट्र बैंकको अनुगमन प्रतिवेदनको पालना, तथा डिजिटल बैंकिङ सम्बन्धी अवस्थाबारे पनि लेखापरीक्षकको टिप्पणी अनिवार्य गरिएको छ।
त्यस्तै, पुँजी पर्याप्तता, भुक्तानी प्रणाली, र नियामकीय अनुपालनबारे समेत प्रतिवेदनमा स्पष्ट उल्लेख गर्नुपर्नेछ। यसअघि समेटिएका विषयहरूलाई परिष्कृत गर्दै, नयाँ विषयहरू समेत समावेश गरी प्रतिवेदनको दायरा फराकिलो बनाइएको राष्ट्र बैंकले जनाएको छ।



















