आरबिबि फोकस ४० म्युचुअल फण्डको इकाई बिक्री खुला
वि.सं.२०८२ भदौ १८ बुधवार १०:०१
shares

काठमाडौं, १८ भदौ । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको व्यवस्थापनमा सञ्चालित आरबिबि म्युचुअल फण्ड अन्तर्गतको नयाँ सामूहिक लगानी योजना ‘आरबिबि फोकस ४०’को इकाई भदौ १८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।
बैंकले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा जम्मा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशनमा ल्याएको हो। यस योजनाअन्तर्गत कोष प्रबद्र्धक राष्ट्रिय वाणिज्य बैंकका लागि न्यूनतम १ करोड ४० लाख इकाई र योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका लागि न्यूनतम १० लाख इकाई सुरक्षित गरिएको छ।
सर्वसाधारणका लागि बाँकी ८ करोड ५० लाख इकाई बिक्री खुला गरिएको छ। लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड इकाईसम्म आवेदन दिन सक्नेछन्।
निष्काशन छिटोमा भदौ २२ गते बन्द हुनेछ भने सो समयमा सबै इकाई बिक्री नभएमा निष्काशन अवधि असोज १ गतेसम्म लम्बिन सक्छ। १२ वर्ष अवधिको यो सामूहिक लगानी कोषमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ।
त्यस्तै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा निर्माण गरिएको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि सिआस्बा प्रणाली प्रयोग गरी सहज रूपमा आवेदन दिन सकिनेछ।














