Dhulikhel Eco Banner new

पहिलो दुई महिनामै ३३ अर्ब रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत

कृषि र पर्यटनमा बढी लगानी, आईटी क्षेत्र अग्रस्थानमा

4.49K
shares

काठमाडौं, ७ असोज । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालले ३३ अर्ब ९ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत गरेको छ। उद्योग विभागका अनुसार भदौ मसान्तसम्म स्वीकृत एफडीआईमध्ये १ अर्ब ३६ करोड रुपैयाँ अटोमेटिक रुटबाट र ३१ अर्ब ७२ करोड ३८ लाख रुपैयाँ अप्रुभल रुटबाट आएको हो। भदौ महिनामा मात्र ८ अर्ब ९८ करोड ७० लाख रुपैयाँको एफडीआई स्वीकृत भएको देखिन्छ।

साउन महिनामा २४ अर्ब १० करोड बराबरको एफडीआई स्वीकृत भएको थियो, जुन भदौको तुलनामा उल्लेख्य रुपमा बढी हो। साउनमा चीनबाट भैंसीको मासु प्रशोधन उद्योगमा २० अर्ब रुपैयाँको लगानी स्वीकृत गरिएकाले एफडीआईको परिमाण उच्च भएको थियो। यद्यपि भदौमा पनि ठूला तथा मझौला उद्योगमा लगानी आकर्षित भएको उद्योग विभागले जनाएको छ।

साउन र भदौ महिनामा कुल २ सय ३६ वटा उद्योग दर्ता भएका छन्। तीमध्ये ७ वटा ठूला, ४ वटा मझौला र २ सय २५ वटा साना उद्योग रहेका छन्। भदौ महिनामात्रै ५ ठूला र ४ मझौला उद्योग दर्ता भएका छन्। साना उद्योगको संख्या पनि भदौमा उल्लेख्य रुपमा वृद्धि भएको छ।

दर्ता भएका उद्योगमध्ये सूचना प्रविधि (आईटी) क्षेत्रमा सबैभन्दा बढी उद्योग खुलेका छन्। दुई महिनामा आईटी क्षेत्रमा १ सय २० उद्योग दर्ता भएका छन्, जुन कुल दर्ता भएको उद्योगको ५१ प्रतिशत हो। पर्यटन दोस्रो स्थानमा रहेको छ, जहाँ ७९ उद्योग दर्ता भएका छन्, जसको हिस्सा ३४ प्रतिशत हो। सेवा, उत्पादन, कृषि र ऊर्जा क्षेत्रमा क्रमशः १५, १२, ९ र १ वटा उद्योग दर्ता भएका छन्।

लगानी प्रतिबद्धताको हिसाबले कृषि क्षेत्र सबैभन्दा अगाडि देखिएको छ। कृषि क्षेत्रमा २१ अर्ब ५९ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। पर्यटन दोस्रो स्थानमा छ, जहाँ ६ अर्ब ६९ करोड रुपैयाँको लगानी प्रतिबद्धता देखिएको छ।