नख्खु कारागारबाट फरार भएका केदारनाथ शर्मा सानेपाबाट पुनः पक्राउ
वि.सं.२०८२ असोज ८ बुधवार १७:३४
shares

काठमाडौं, ८ असोज । जेनजी आन्दोलनको मौका छोपी नख्खु कारागारबाट फरार भएका केदारनाथ शर्मा पक्राउ परेका छन्। बाँकेको खजुरा गाउँपालिका घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका बसोबास गर्दै आएका ५० वर्षीय शर्मा ललितपुरको सानेपाबाट पक्राउ परेका हुन्।
शर्मा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, भक्तपुरका सञ्चालक हुन्। उनले सो सहकारीको १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप रकम हिनामिना गरेको आरोप लागेपछि उनीविरुद्ध सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत मुद्दा चलाइएको थियो।
उनी भक्तपुर जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा रहँदै नख्खु कारागारमा सजाय भोगिरहेका थिए। तर मिति २०८२ भदौ २४ गतेको आन्दोलनको बेलामा सिर्जना भएको अव्यवस्थित अवस्थाको फाइदा उठाउँदै उनी फरार भएका थिए।
फरार भएपछि केदारनाथ शर्माको खोजीका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० बाट विशेष टोली परिचालन गरिएको थियो। सोही टोलीले आज ललितपुर महानगरपालिका–२, सानेपाबाट उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पछि शर्मालाई पुनः नख्खु कारागारमा बुझाइएको सीआईबीले जनाएको छ। प्रहरीले शर्मा आर्थिक अपराधमा संलग्न रहेको पुष्टि भइसकेको भन्दै अब कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।
यसअघि पनि शर्मा फरार भई भारतको मुम्बईमा लुकेर बसेका बेला सीआईबीको टोलीले उनलाई पक्राउ गरी नेपाल ल्याएको थियो।

















