राजस्व संकलन सहज बनाउन शनिबार पनि आरटीजीएस खुला रहने
वि.सं.२०८२ असोज २४ शुक्रवार १०:२६
shares

काठमाडौं, २४ असोज । नेपाल राष्ट्र बैंकले असोज २५ गते शनिबार पनि आरटीजीएस ९रियल टाइम ग्रस सेटलमेन्ट० प्रणाली सञ्चालनमा रहने जानकारी दिएको छ। केन्द्रीय बैंकले एक सूचना जारी गर्दै सो दिन राजस्व संकलनलाई सहज बनाउन आरटीजीएस प्रणाली बिदाका दिन पनि खुला रहने जनाएको हो।
राष्ट्र बैंकका अनुसार असोज २५ गते आरटीजीएस प्रणाली बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म, अर्थात् १२ घन्टा सञ्चालनमा रहनेछ।
आरटीजीएस प्रणाली अन्तर्गत उच्च मूल्यका बैंकिङ कारोबार र राजस्व भुक्तानी जस्ता महत्त्वपूर्ण वित्तीय कारोबार तत्काल सेटल हुने व्यवस्था गरिएको छ।
यसले सरकारी राजस्व संकलन, ठूला कारोबारको सहजता तथा वित्तीय प्रणालीको कार्यक्षमता वृद्धि गर्न मद्दत गर्ने राष्ट्र बैंकले जनाएको छ।
यसअघि पनि राष्ट्र बैंकले विशेष अवस्थामा शनिबार तथा बिदाका दिनहरूमा आरटीजीएस प्रणाली सञ्चालनमा ल्याउने गरेको थियो।















