भाइटिकाको दिन बाहेक अन्य दिन पनि बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको आग्रह
वि.सं.२०८२ कात्तिक १ शनिवार ०९:२३
shares

काठमाडौं, १ कात्तिक । नेपाल राष्ट्र बैंकले देशभरका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई भाइटिकाको दिन बाहेक अन्य सबै दिन भन्सार जाँच पासका लागि आवश्यक बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ।
केन्द्रीय बैंकले सम्बन्धित वित्तीय संस्थाहरुलाई पत्राचार गर्दै व्यापार सहजीकरण तथा आपूर्ति प्रणाली निरन्तर सञ्चालनमा राख्नका लागि यस्तो आग्रह गरेको हो। राष्ट्र बैंकको भनाइ अनुसार, आयात–निर्यात जस्ता महत्त्वपूर्ण आर्थिक गतिविधिमा अवरोध नआओस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको हो।
यसैबीच, राष्ट्र बैंकले आज शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली पनि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने जनाएको छ। आरटीजीएस प्रणाली विशेषगरी उच्च मूल्यका भुक्तानीहरु छिटोछरितो गर्न प्रयोग हुने सुविधा हो, जसले आर्थिक कारोबारलाई थप चुस्त बनाउने अपेक्षा गरिएको छ।
राष्ट्र बैंकले वित्तीय संस्थाहरुलाई अर्थतन्त्रलाई गतिशील राख्नका लागि छुट्टै पहल र जिम्मेवारीका साथ सेवा निरन्तरता दिन अनुरोध समेत गरेको छ।















