Dhulikhel Eco Banner new

सप्तकोशी डेभलपमेन्ट बैंकमाथि राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारबाही

2.69K
shares

काठमाडौं, १३ कात्तिक । नेपाल राष्ट्र बैंकले सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडमाथि शीघ्र सुधारात्मक कारबाही गरेको छ। बैंकको पूँजी कोष अनुपात राष्ट्र बैंकले तोकेको न्यूनतम सीमा भन्दा २४.९ प्रतिशतले कम भएपछि यस्तो कारबाही गरिएको हो। राष्ट्र बैंकका अनुसार असार मसान्त २०८२ सम्म बैंकको पूँजी कोष अनुपात ७.५१ प्रतिशत मात्र रहेको छ, जुन न्यूनतम १० प्रतिशतभन्दा निकै कम हो।

राष्ट्र बैंकले तोकेको नियम अनुसार कुनै पनि बैंक वा वित्तीय संस्थाको पूँजी कोष अनुपात तोकिएको सीमाभन्दा २५ प्रतिशतसम्मले घटेमा त्यस संस्थामाथि शीघ्र सुधारात्मक कारबाही लागू हुन्छ।

राष्ट्र बैंकले सप्तकोशी डेभलपमेन्ट बैंकलाई पूँजी स्थिति सुधारका लागि ठोस योजना तयार गर्न निर्देशन दिएको छ। यस क्रममा बैंकले नगद लाभांश तथा बोनस सेयर वितरण गर्न पाउने छैन, साथै नयाँ शाखा खोल्न रोक लगाइएको छ। त्यस्तै बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत (सीईओ) र उच्च व्यवस्थापनको तलब, भत्ता तथा सुविधा वृद्धि गर्न पनि प्रतिबन्ध लगाइएको छ।

स्थलगत निरीक्षण प्रतिवेदन अनुसार बैंकले चालु पूँजी प्रकृतिका कर्जामा आवश्यक कागजात नलिई समयावधि थप गरेको, कर्जा नोक्सानी व्यवस्था सम्बन्धी विवरण यथार्थपरक नभएको, र राष्ट्र बैंकमा गरिएको रिपोर्टिङ विश्वसनीय नभएको पाइएकाले बैंकका सीईओ दिनेशकुमार पोखरेललाई सचेत गराइएको छ।

राष्ट्र बैंकले बैंक सञ्चालक समितिलाई समेत कैफियत सुधारका लागि लिखित निर्देशन दिएको छ र यस्ता त्रुटिहरू पुनः नदोहोर्‍याउन चेतावनी दिएको छ।

यसअघि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लुम्बिनी विकास बैंकमाथि पनि राष्ट्र बैंकले स्थलगत निरीक्षणपछि कारबाही गरेको थियो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रको स्थायित्व र विश्वसनीयता कायम राख्न यस्ता सुधारात्मक कदमलाई निरन्तरता दिने जनाएको छ।