सरकारले १० अर्ब रुपैयाँको ‘विकास ऋणपत्र–२०८६’ जारी गर्ने
वि.सं.२०८२ कात्तिक १८ मंगलवार १३:२०
shares

काठमाडौं, १८ कात्तिक । सरकारले आन्तरिक ऋण व्यवस्थापनको उद्देश्यसहित १० अर्ब रुपैयाँ बराबरको ऋण उठाउने तयारी गरेको छ। यसका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘विकास ऋणपत्र–२०८६’ जारी गर्ने भएको हो।
कार्यालयका अनुसार ४ वर्ष अवधिको सो ऋणपत्र कात्तिक १९ गते बोलकबोल ९अक्सन० प्रणालीमार्फत बिक्री गरिनेछ। त्यसको निष्काशन प्रक्रिया कात्तिक २० गते सम्पन्न गरिने योजना रहेको छ।
‘विकास ऋणपत्र–२०८६’ खरिदका लागि बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनीहरूका साथै नेपाली नागरिकहरूले पनि सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ। इच्छुक सबैलाई बोलकबोलमा सहभागी हुन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आग्रह गरेको छ।
सरकारले यस्तो ऋणपत्र जारी गर्दै आन्तरिक स्रोतबाट पूँजी जुटाउने र आर्थिक व्यवस्थापनलाई सुदृढ बनाउने नीति अघि सारेको छ।















