एनआईसी एशिया बैंकको नवनियुक्त सीईओ सुजित कुमार शाक्यद्वारा पदभार ग्रहण
वि.सं.२०८२ कात्तिक २० बिहीवार १३:४६
shares

काठमाडौं, २० कात्तिक । एनआईसी एशिया बैंक लिमिटेडका नव–नियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार शाक्यले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। बैंकको सञ्चालक समितिको ७३६औं बैठक कात्तिक १७ गतेको निर्णयअनुसार नियुक्त शाक्यले कात्तिक २० गते आफ्नो कार्यभार सम्हालेका हुन्।
झन्डै तीन दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय शाक्यले नेपालका अग्रणी बैंकहरूमा कार्य गर्दै उल्लेखनीय योगदान पुर्याएका छन्। उनले भारतको नयाँ दिल्लीस्थित दिल्ली विश्वविद्यालयबाट वाणिज्यमा स्नातक र इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एन्ड म्यानेजमेन्ट, लखनऊबाट व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गरेका छन्।
शाक्यले आफ्नो बैंकिङ करिअर सन् १९९६ मा तत्कालीन नेपाल श्रीलंका मर्चेन्ट बैंक बाट सुरु गरेका थिए। त्यसपछि उनले हिमालयन बैंक, लक्ष्मी बैंक, र बैंक अफ एशिया नेपाल लिमिटेडमा बिजनेस बैंकिङ प्रमुखका रूपमा कार्यभार सम्हालेका थिए।
एनआईसी बैंक र बैंक अफ एशिया नेपालको मर्जर प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका शाक्य मर्जरपछि बनेको एनआईसी एशिया बैंकमा सहायक महाप्रबन्धक तथा कर्पोरेट बैंकिङ प्रमुखको रूपमा कार्यरत रहे। त्यसपछि उनले सिभिल बैंक, जनता बैंक र ग्लोबल आईएमई बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेका थिए।
एनआईसी एशिया बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त हुनुअघि उनी नबिल बैंक लिमिटेडमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए।
बैंकका अनुसार “प्रमुख कार्यकारी अधिकृत शाक्यको विश्लेषण क्षमता, स्पष्ट रणनीतिक दृष्टिकोण तथा लामो बैंकिङ अनुभवका कारण बैंकले उहाँको कार्यकालमा थप सहज, सबल, गतिशील र उत्तरदायी अभ्यास गर्दै प्रतिष्ठाको शिखरमा पुग्ने विश्वास लिएको छ।”















