Dhulikhel Eco Banner new

निजी क्षेत्रको सुरक्षामा सरकार पूर्ण प्रतिबद्ध छ: अर्थमन्त्री खनाल

4.1K
shares

काठमाडौं, १ मंसिर। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकार निजी क्षेत्रको सुरक्षामा पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा आन्तरिक राजस्व विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले हालैको जेनजी आन्दोलनले निजी क्षेत्र र समग्र अर्थतन्त्रमा पारेको प्रभावप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन् ।

उनका अनुसार आन्दोलनमा अभिव्यक्त असन्तुष्टि केवल सरकार वा राजनीतिक दलप्रति मात्र नभई समग्र समाज, उद्योगधन्दा र रोजगार संरचनासँग गहिरो रूपमा जोडिएको छ। बेरोजगारी र विकासमा समावेशिता नहुँदा युवामा बढेको पीडा आन्दोलनमार्फत सतहमा आएको उनले उल्लेख गरे। खनालले हालसम्मको प्रारम्भिक विवरणअनुसार जेनजी आन्दोलनका कारण करिब ७८ अर्ब रुपैयाँ बराबरको भौतिक संरचना क्षति भएको र देशभरका ५५ जिल्लामा करिब २,९०० भवन क्षतिग्रस्त भएको बताए।

सरकारका अनुसार क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि चालु आर्थिक वर्षमै एक खर्ब २० अर्ब रुपैयाँ उपलब्ध गराइएको छ, र यो रकम पुनर्निर्माणका लागि पर्याप्त हुने अर्थमन्त्रीको दाबी छ। उनले कर प्रणाली सुधार, सुशासन सुदृढीकरण र व्यवसायमैत्री वातावरण निर्माण सरकारको प्राथमिकता भएको बताए। इमानदार व्यवसायीलाई अनावश्यक झन्झट पर्ने पूर्ण लेखापरीक्षण अब नहुने र अर्थतन्त्र ठूलो बन्दै जाँदा कराधार स्वाभाविक रूपमा बढ्ने उनले स्पष्ट पारे।

पुँजी बजार सुधार र निजी क्षेत्रसँग प्रभावकारी समन्वय आवश्यक रहेको बताउँदै उनले संसद् सञ्चालनमा नआएकाले आवश्यक कानुन ल्याउन कठिनाइ भएको र अध्यादेशमार्फत दीर्घकालीन कानुन ल्याउन चुनौती रहेको बताए।