राष्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्थामा घुसखोरी र भ्रष्टाचार रोक्ने नीति लागू
वि.सं.२०८२ मंसिर १५ सोमवार १२:०५
shares

काठमाडौं, १५ मंसिर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा घुसखोरी तथा भ्रष्टाचार रोक्न नयाँ नीति लागू गरेको छ। यो नीति आर्थिक वर्ष २०८२/८३ का लागि जारी मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा घोषणा गरिएको हो।
राष्ट्र बैंकका अनुसार, अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक प्रचलनलाई ध्यानमा राख्दै भ्रष्टाचार तथा घुसप्रतिरोध नीति कार्यान्वयन गरिनेछ। नीति अनुसार कर्मचारी, व्यवस्थापन र सम्बन्धित सबै पक्षले इमान्दारीपूर्वक काम गर्नुपर्नेछ।
यस अन्तर्गत, कर्मचारीहरूले व्यक्तिगत वा संस्थागत लाभको लागि पैसा, उपहार, सेवा वा कुनै प्रकारको फाइदा दिने वा लिन पाउने छैनन्। निर्णय प्रक्रिया, सम्झौता र सम्पत्तिमा अनैतिक प्रभाव पार्ने गतिविधिहरू पूर्ण रूपमा रोकिएका छन्। साथै, सरकारी अधिकारी वा निजी पक्षसँगको व्यवहार पूर्ण पारदर्शी हुनुपर्ने व्यवस्था गरिएको छ।
नीति पालना अनिवार्य भएकाले संस्थाले नियमित अडिट र निगरानी मार्फत यसको पालन सुनिश्चित गर्नेछ। साथै, कुनै पनि कर्मचारी वा सम्बन्धितले घुस वा भ्रष्टाचारको प्रयास देखे वा भोगेमा सुरक्षित तरिकाले रिपोर्ट गर्न सक्ने व्यवस्था पनि राखिएको छ।















