Dhulikhel Eco Banner new

ज्योति विकास बैंकका कर्मचारीमाथि लज्जास्पद आक्रमणप्रति सिबिफिनको आपत्ति

2.95K
shares

काठमाडौं, २९ मंसिर । सप्तरी जिल्लाको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीमाथि गरिएको लज्जास्पद र घृणित दुव्र्यवहारप्रति नेपाल बैंकर्स एन्ड फाइनान्सियल इन्स्टिच्युसन्स एसोसिएसन (सिबिफिन)ले कडा आपत्ति प्रकट गरेको छ।

सिबिफिनका अनुसार, बैंकका कर्मचारीहरू प्रवाहित कर्जाको किस्ता लामो समयदेखि नियमित हुन नसक्दा समुचित समाधानका लागि छलफलमा पुगेका थिए। तर, स्थानीय तहका जिम्मेवार अधिकारीको नेतृत्वमा रहेका ऋणीहरूले नियोजित रूपमा घण्टौंसम्म कर्मचारीहरूलाई कब्जामा राखेर हिंस्रक आक्रमण गरेका थिए।

सिबिफिनले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै भन्यो कि स्थानीय सुरक्षा निकायले पीडितको जाहेरी बेवास्ता गर्नु, मिलापत्रका लागि दबाब दिनु र दोषीलाई कारबाहीको दायरामा नल्याउनु अस्वीकार्य छ।

संगठनले दोषीहरूलाई हदैसम्मको कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र सुरक्षा निकायहरूसमक्ष जोडदार माग गरेको छ।

सिबिफिनका अनुसार बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीमाथि यस्तो आक्रमण बैंकिङ क्षेत्र मात्र नभई समग्र मुलुकको अर्थतन्त्र र नेपाल सरकारमाथि प्रत्यक्ष आक्रमण भएको ठानिन्छ।

संगठनले सबै सरोकारवालालाई बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न, बैंकिङ सेवालाई निर्वाध सञ्चालनको वातावरण बनाउन आग्रहसमेत गरेको छ।