माउन्टेन इनर्जी नेपालको १२औँ वार्षिक साधारण सभा सम्पन्न
वि.सं.२०८२ मंसिर २९ सोमवार १७:१४
shares

काठमाडौं, २९ मंसिर । माउन्टेन इनर्जी नेपाल लिमिटेडको १२औँ वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष प्रदीप जंग पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले लाभांश वितरणसहित विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव अनुमोदन गरेको हो। पारित प्रस्तावअनुसार लाभांश सेयरधनीहरूलाई वितरण गरिनेछ।
सभामा अध्यक्ष पाण्डेद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१\८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी स्वीकृति प्रदान गरिएको छ। साथै, लेखा परीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा वार्षिक वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पनि पारित गरिएको छ।
त्यसैगरी, कम्पनी ऐन २०६३ बमोजिम आर्थिक वर्ष २०८२\८३ का लागि लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय समेत सभाले गरेको छ। प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित भएको छ।
हाल माउन्टेन इनर्जी नेपाल लिमिटेडले ४२ मेगावाट क्षमताको मिस्ट्री खोला र ५ मेगावाट क्षमताको तादीखोला जलविद्युत आयोजनाबाट नियमित रूपमा विद्युत उत्पादन गरिरहेको छ। साथै, ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत आयोजना निर्माणको चरणमा रहेको कम्पनीले जनाएको छ।















