GBIME

‘डर’ले बचाएको जातीय भेदभाव

10.92K
shares

काठमाडौं, २२ जेठ । बेलुकाको खाना खाएर सुत्नलाई आफ्नो कोठातर्फ लागे । उफ् आज कत्ति अल्छी लागेको गर्मीले पृथ्वी नै छेड्ला जस्तो छ सायद त्यै भएर होला पढ्न पनि मन लागेको छैन । ‘ह्या होस भोली बिहानै उठेर पढ्छु, सुत्छु आज’ भन्दै पल्टिए ओछ्यानमा ।

अहिलेको जमानाको नै मान्छे न हुँ म पनि, जति थाके पनि एकछिन मोबाइल नहेरी निन्द्रा पर्दैन । मोबाइल खोले अनि फेकबुक हेरे मलाई समाचारहरु बढी नै मन पर्ने भएकाले धेरै समाचारका फेसबुक पेजहरुलाई फलो गरेको छु । बेलाबेलामा एउटा अन्जान फोटोलाई जष्टिस माग्दै पोष्ट गरेको देख्थे ।

यो सामान्य कुरा नै त होनी, नेपालमा यस्ता घटना त कत्ति घट्छन घट्छन् त्यसमा न्याय माग्दै मानिस सडकमा आउनु त सामान्य हो जस्तो लाग्यो र पोष्ट पुरा पढ्ने कष्ट गरिन । फेरी युट्युब खोले त्यहाँ पनि त्यहि अपरिचित फोटो लाई जष्टिस माग्दै युवाहरु सडकमा आन्दोलन गरिरहेका छन् । भिडियोको थब्मनेइलमा क्लिक गरे शुरुमै ‘वी वान जष्टिस, जातीय भेदभाव अन्त्य गर’ भन्दै एक युवा चिच्याएको आवाज हाईलाईटिङमा देखे । मनमा चिसो पस्यो । मुखबाट निस्कियो , जातीय भेदभाव ?

के भएको रहेछ ? को हुन यी ? सबै हाइलाइटलाई ध्यान पुर्वक हेरे र सुने बल्ल थाहा पाए । करिब तिन महिना सम्म विवाह गरेर संगै बसेका वस्याल युवक र घिमिरे युवतीको प्रेम कथा को फिल्म प्रदर्शन भइरहेको रहेछ । विवाह गरेको तीन महिना बितिसकेपछि युवतीको परिवारले स्वीकार्छौ भनेर बोलाएर बलत्कारको मुद्धा चलाएछन् ।

अहिले युवती परिवारको संरक्षणमा छिन भने युवक प्रहरी हिरासतमा । युवक मोटोभ्लगर पनि रहेछन् त्यससंगै उनी एक वस्यालको छोरा रहेछन् । त्यै कारण जातीय भेदभाव गर्दै नियोजित रुपमा युवकलाई युवतीको परिवारले फसाएर मुद्धा चलाएका रहेछन् । यहि कारणले नै नेपालका मोटोभ्लगर्सहरुले आन्दोलन गरेका रहेछन् ।

त्यो आन्दोलनमा साथ दिन आएका धेरै युवतीहरु घिमिरे युवती जस्तै थिए । यी युवतीहरु र घिमिरे युवतीहरु उस्तैउस्तै देखिएपनि धेरै कुराको अन्तर छल्कीरहेको थियो । हो, फरक थियो, फरक थियो उनीहरुको सोच उनीहरुको काम र उनीहरुको उद्धेश्य घिमिरे युवतीले प्रभासलाइ फसाइन र जेल पसाइन तर सडकमा आएका युवतीहरुले प्रभासलाई बचाउन, न्याय दिलाउन लागी परेको देखे ।

अनि फेरी मनमा एउटा प्रश्न उत्पन्न भयो आफुले माया गरेको मान्छेलाई आफ्नै कारणले जेल लगेको कसरी हेर्न सक्छन् ? आफ्नो कारणले यति धेरै दुःख पाएको कसरी देख्न सक्छन्, आफुले माया गरेको मान्छेलाई हस्पिटलको बेडमा पनि हतकडीसहित देख्दा कसरी मन थाम्न सक्छन् ?

यतिका हल्लाखल्ला आन्दोलन हुँदा पनि कसरी नदेखेँ नसुनेँ जस्तो गरेर बस्न सक्छन् ?
फेरी शंकात्मक प्रश्नले घेर्याे मलाई, ‘कतै यो उनको नियोजित योजना नै हैन ?
उनले माया नै गर्थिन की प्रभासलाई फसाउनलाई नै यो सब गरेकी हुन् ?’

अर्काे तर्कले पनि छर्रा हान्यो मनमा, ‘हैन छोरी मान्छे हो सानो जातको केटा भनेर पारिवारिक दबाब आएर पो उनले यो सब गरेकी हुन की ? मान्छेको जीन्दगीमा बुबाआमा नै पहिलो प्रेम हुन्छन् उनले पनि बुबाआमाको लागी नै सत्य दबाएर बसेकी छिन की ?’

त्यहि बेला मलाई जातीय भेदभावको कारण घटेका विगतका केहि घटनाहरु याद आउछ र फर्किन्छु फ्याल्सब्याकमा । २०७७ सालमा रुकुम जाजरकोटमा जातीय भेदभावले घटाएको नवराज विक सहित ६ जनाको निर्मम र कु्रर हत्याकाण्ड सम्झेँ । आजपनि सम्ँिझदा मन झसंग हुन्छ । देश नै रोएको घटना थियो त्यो । यस्तै– यस्तै घटनाहरु सम्झिदा सम्झिदैं प्रभासलाई न्याय माग्दै आन्दोलन गरेको भिडियो त सक्किएर मोबाइल पनि अफ भइसकेछ ।

भन्न त सबैले भन्छन् की जातीय भेदभाव गर्नुहुँदैन । उनीहरु पनि मान्छे हो, उनीहरुको पनि मन हुन्छ, भावना हुन्छ । अनि मलाई जवाफ दिन मन लाग्छ, ‘यो सब बोलीमा मात्र सुहाउँछ । व्यवहारमा लागु गर्न कसैले सक्दैन’ किनकी हाम्रो मस्तिष्कमा सानैदेखि बुबाआमाले नै जातीय भेदभावको बिरुवा रोपिदिएका हुन्छन् ।

म मान्छु पहिलाको जस्तो सामान्य व्यवहारमा जातीय भेदभाव झल्किदैन तर जब प्रेमको कुरा आउछ, विवाहको कुरा आउछ जत्ति नै शिक्षित, जत्तिनै मोर्डन परिवार किन नहोस यो सम्बन्धलाई स्वीकार्न कसैले सक्दैनन् । कारण ‘डर’

समाज को नियमको डर, इज्जतमा दाग लाग्ने डर, दाजुभाईले हेला गर्ने डर, आफन्तको नजरमा गिरिने डर । यहि डर नै डरको कारण कतिपय प्रेमिल जोडिले वियोगान्त सहनुपरेको छ । कतिपय विवाहित जोडी छुट्टिनुपरेको छ अनि कतिपय प्रेमीले मृत्युवरण गर्नुपरेको छ । अन्तरजातीय विवाह सबैलाई मन पर्छ तर आफ्नो घरमा हैन अरुको घरमा मात्र ।

अहिले प्रभासको लागी न्याय माग्दै सडकमा आएकाहरुले पनि अन्तजातीय विवाहलाई स्वीकार्न सक्दैनन् । यो अवस्थाको अन्त्य त सबैले चाहान्छन्, बोल्छन पनि तर यो व्यवस्था परिवर्तनको लागी आफैंबाट शुरुवात गर्ने हिम्मत कसैले गर्दैनन् ।

कहिले यो स्थितीको अन्त्य हुन्छ ? जात हेरेर हैन मान्छेको मन र व्यवहार हेरेर दिल जोड्ने दिन कहिले आउँछ ? जातकै कारण प्रेम र प्रेमीको हत्याहुन कहिले रोकिन्छ ? जात सानो भयो भन्दै सजायको भागिदार बन्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य कहिले हुन्छ ? मेरो मनमा खड्किएको एउटा प्रश्न छ ?     जातीय भेदभावको अन्त्य कहिले हुन्छ ?