Dhulikhel Eco Banner new

बैंकहरुले संकटलाई कमाउने अवसरका रुपमा लिए : अध्यक्ष गोल्छा

5.16K
shares

काठमाडौं, ६ असोज । नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष शेखर गोल्छाले बैंकले समस्यालाई कमाउने अवसरका रुपमा लिएको आरोप लगाएका छन् । ‘नाडा इभी एक्स्पो २०२२’ को उद्घाटनको अवसरमा बोल्दै अध्यक्ष गोल्छाले वर्तमान समस्यालाई बैंकहरूले अवसरको रुपमा उपयोग गरेको र त्यसैको फलस्वरुप ब्याजदर ऋणको प्रिमियर बढाएको आरोप लगाएका हुन् ।

व्यवसायीलाई पलेर बैंकहरु नाफा कमाउने योजनामा लागेको उनको भनाइ छ । सरकारलाई पनि यसतर्फ ध्यान दिन उनले आग्रह गरे । विश्व महामारी कोभिड–१९ र तरलता संकटको भुमरीमा परिरहेका व्यवसायीहरुलाई बैंकहरुको ब्याजदर वृद्धिले थप मारमा परेको उनको भनाइ छ । बैंकहरुले जथाभावी ब्याजदर बढाइरहेकाले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाइ तत्काल हस्तक्षेप गरेर नियन्त्रण गर्न पनि उनले माग गरे ।

हाल नेपालको अर्थतन्त्रमा देखिएको समस्या बाह्यभन्दा पनि आन्तरिक भएको उनको भनाइ थियो । अहिले पनि अर्थतन्त्रका आधारहरु बलिया रहेकाले सबै क्षेत्रले आत्मासाथ गरेर संकटलाई समधान गर्नुपर्ने उनले बताए । तरलता संकटको बोझ सबैले बोक्नुपर्ने बताएका अध्यक्ष गोल्छाले रेमिट्यान्स पठाउने युवाहरु विदेशिने क्रम १० प्रतिशतले बढेकाले शोधानान्तर स्थितिमा पनि क्रमिक रुपमा सुधार आउँने उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जाको ब्यवस्था पुनरावलोकन गर्न समेत उनले माग गरे । नेपाल राष्ट्र बैंकले दुई करोड वा सोभन्दा कम रकमको चालु पुँजी कर्जा जारी गर्दा यस्तो कर्जाको सीमा कम्पनीको अनुमानित वार्षिक कारोबारको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कायम गर्नुपर्ने गरी तोकेको छ । दुई करोडभन्दा माथिको चालु पुँजी कर्जा जारी गर्दा भने यस्तो कर्जा स्थायी रूपमा चाहिने वा आवश्यकता अनुसार हो निर्धारण गर्नुपर्ने हुन्छ ।