‘५० प्रतिशत व्यवसायी पलायन भइसके, प्रविधिका कारण पनि यो अवस्था आयो’
वि.सं.२०७९ मंसिर ९ शुक्रवार ०९:२२
shares

पछिल्लो समय उद्योग व्यवसाय अप्ठ्यारो अवस्थामा रहेको छ । व्यवसायीहरुले कोभिड लगायत पछिल्लो समय बैंकको ब्याजदर बढाएका कारण थप समस्यामा परेका छन् । पछिल्लो सयम प्रिन्टिङ प्रेस व्यवसायको अवस्थाका विषयमा डिजिटल कलर ल्याव एसोसिएसनका उपाध्यक्ष नवीन कुमार बस्नेतसँग केटिएम भ्वाइसका महेन्द्र शाहीले गरेको कुराकानीको सम्पादित अंश :
पछिल्लो समय व्यवसायको अवस्था कस्तो छ ?
अहिले व्यवसायको मात्रै नभएर समग्र देशकै अवस्था निकै नाजुक रहेको छ । देश अप्ठ्यारोमा हुँदा व्यवसायी पनि समस्यामा पर्ने कुरा स्वभाविक नै हो । यो अवस्थामा हाम्रो व्यवसाय भनेको मनोरञ्जनात्मक क्षेत्रमा पर्छ । मनोरञ्जनको पनि एउटा पाटोका रुपमा रहेको छ । तर पछिल्लो समय व्यवसाय नै हुन नसकेको अवस्था छ । चुनावको समयमा निकै धेरै प्रिन्टको काम हुने गरेको भए पनि यो पटकको चुनावमा भने पहिले जस्तो हुन सकेन् ।
अहिले ई–डिजिटलले गर्दा पनि यो अवस्था आएको हो । सयमसँगै हिड्नु पर्छ यसमा कसैको दोषभन्दा पनि समयको गतिले हाम्रो व्यवसायमा गिरावट आएको हो । केही वर्ष अघिसम्म विवाहको सिजनमा निकै धेरै कार्डहरु छापिने गरेको भए पनि अहिले निकै कम मात्रै छापिने गरेका छन् । यो कसैका कारणभन्दा पनि प्रविधिका कारण यस्तो भएको हो ।
व्यवसाय नै नभएको भन्ने होइन तर पहिलेको तुलनामा निकै न्युन मात्रै छ । पाँच वर्ष पहिले वर्षमा १ करोडको व्यापार गर्ने व्यवसायीहरुले अहिले २० लाख गर्न पनि सकेका छैन् । अहिले केही सिमित मात्रामा विवाहका कार्डहरु छाप्ने गरिएको छ । २० वटा कार्ड छाप्दीनु विशेष मानिसलाई मात्रै दिने गरी छापिदिनु भन्ने गरेका छन् ।
यो क्षेत्रमा त प्रविधिले धेरै समस्या ल्याएको देखियो । अनि व्यवसायीको अवस्था के छ त ?
केही वर्ष अघिसम्म यो व्यवसायमा निकै धेरै व्यक्तिहरु सहभागि थिए । पछिल्लो समय यो क्षेत्रबाट पलायन भइरहेको अवस्था छ । केहीले भने मुख्य ठाउँबाट अलि भित्रपट्टि गएर पनि व्यवसाय गरिनै राखेको अवस्था छ । तर व्यवसाय पहिलेको जस्तो भने छैन् ।
वास्तवमै भन्ने हो भने ५० प्रतिशत व्यवसायी त पलायन भइसकेको अवस्था छ । व्यवसाय गरिरहेकाहरुलाई पनि कर्मचारीलाई तलब खुवाउनकै लागि समस्या भइरहेको अवस्था छ । मेरै कुरा गर्नुहुन्छ भने पनि ५० प्रतिशत कामदार कम गरेको अवस्था छ ।
२२ जनासम्मलाई रोजगारी दिइरहेको अवस्थामा अहिले १० जनालाई पनि रोजगारी दिन सकिने अवस्था छैन् । यसैबाट प्रमाणि हुन्छ कि यो व्यवसायको अवस्था कस्तो छ । अहिले कप, टिसटहरुमा प्रिन्ट गर्नका लाग आउनेहरुले नै यो व्यवसाय धानिराखेको अवस्था हो । चाडपर्वको समयमा पनि फोटो खिचाउने चलन विस्तारै हटेको छ ।
अब यो व्यवसायलाई कसरी चलायमान बनाउन सकिएला ?
यो व्यवसायलाई चलायमान बनाउने सम्भावना न्यून रहेको छ । कुनै कारणले भएको भए पो त्यसलाई समाधान गर्न सकिन्थ्यो होला । तर समयले यो अवस्था आएको हो । कसरी चलायमान बनाउन सकिएला र ? अहिले सबै ई–डिजिटलमा गइसकेको अवस्था छ । सयमसँग त कसैले पनि सक्दैन नि ।
प्रविधिको विकासले धेरै वर्गलाई सहज बाएको छ । तर हाम्रो व्यवसायका लागि भने प्रविधि अभिसाप बनेर आएको छ । अहिले पेपरमा प्रिन्ट गर्ने र दिने चलन नै हराइसक्यो । हामीले गर्ने भनेकै प्रिन्ट हो । बजारमा अहिले त्यसको मागनै छैन् ।
बजारमा पस्कीनु पर्ने कुरा नै नरहेको अवस्थामा कसरी चलायमान बनाउन सकिएला र ? मेसिनहरु पनि नयाँ नै छन् । तर प्रविधिको फड्कोसँगै मानिसहरुले पनि फड्को मारे । अहिले पेपरमा छाप्ने भनेका अफिसहरुमा चाहिने केही लेटर हेड र खामहरु मात्रै हो । त्यो पनि धेरै संख्यामा हुँदैन् । घर सजाउनका लागि फोटो प्रिन्ट गर्न लगाए पनि त्यो एक पटक गरेपछि लामो समय रहन्छ ।
कोभिडले यो व्यवसायमा कस्तो असार गर्यो ?
कोभिडले त यो व्यवसायलाई उठ्नै नसक्ने अवस्थामा पु¥यायो । प्रविधिले त समस्यामा पारेको नै थियो त्यस माथि कोरानाले गर्दा त अझ प्रविधिको प्रयोग बढ्यो अनि अझ समस्या थपियो । मानिसहरुमा कोभिडले प्रविधिको प्रयोग गर्न बानी पनि बढ्दै गयो ।
अहिले त कुनै कार्यक्रमहरु गर्दा पनि प्रमाणपत्र समेत छपाउन छोडिएको अवस्था छ । कार्यक्रममा सहभागिहरुलाई ई–डिजिटल बाटै प्रमाणपत्र पठाउने गरिएको छ । यसलाई कसैले पनि रोक्न सक्ने अवस्था छैन् ।
नेपाल उद्योग वाणिज्य महासंघको चुनाव पनि आउँदै छ । महासंघमा कस्तो नेतृत्व आउनु पर्छ ?
जुनसुकै क्षेत्रमा पनि क्षमतावान र डाइनामिक नेतृत्व आउनु पर्छ । सरकारसँग समन्वय गरेर व्यवसायीका हक हितमा काम गर्ने सक्के व्यक्तिको आवश्यकता यो क्षेत्रमा समेत छ । कलर प्रिन्टिङ क्षेत्रका लागि त महासंघको नेतृत्वले गर्न सक्ने केही पनि छैन् ।
अन्य व्यवसायका लागि भने पहल गरिदिदा पनि निकै सहज हुन्छ । व्यवसाय जोगाउनका लागि व्यक्तिगत स्वार्थभन्दा पनि सबैको हित गर्न सक्ने व्यक्ति नेतृत्वमा पुग्नु पर्छ भन्ने मेरो धारणा हो ।















