Dhulikhel Eco Banner new

सञ्चार माध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीलाई इमानको आग्रह

14.7K
shares

काठमाडौं, १९ माघ । आर्थिक मिडिया सञ्चालक संघ (इमान) ले प्रधानमन्त्रीलाई भेटेर सञ्चार माध्यमलाई पनि उद्योगको मान्यता दिन आग्रह गरेको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटेर इमानले सञ्चार माध्यमलाई सेवामूलक उद्योगको रुपमा मान्यता दिन माग गरेको हो ।
इमानका अध्यक्ष रोयल आचार्यसहितको प्रतिनिधिमण्डले प्रधानमन्त्रीलाई ध्यानाकर्षपत्र बुझाउँदै यस्तो आग्रह गरेको हो ।

इमानले बैंक तथा वित्तीय संस्थाका सूचना तथा सार्वजनिक खरिद ऐनअनुसारका सूचना अनलाइन सञ्चारमाध्यममा पनि प्रकाशन गर्न मिल्ने गरी कानून संशोेधन गर्न समेत माग गरेको छ ।

संघले सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंकलगायत सरकारको स्वामित्व भएका संस्थामा रहेको अव्यवस्थित विज्ञापन वितरण प्रणालीलाई व्यवस्थित बनाउन पनि आग्रह गरेको छ । यसका साथै आउँदो बजेटमार्फत आर्थिक मिडियालाई आयकरमा विशेष छुटको व्यवस्था गर्न पनि अर्थ मन्त्रालयलाई आवश्यक सुझाव तथा निर्देशन दिन आग्रह गरिएकोे इमानका उपाध्यक्ष माधवप्रसाद तिवारीले जानकारी दिए ।

संघको टोलिसँगको भेटका क्रममा प्रधानमन्त्री दाहालले सुझावलाई सकारात्मकरूपमा लिई कार्यान्वयनका लागि पहल गर्ने आश्वासन दिएका छन् । संघले बुधबार मात्रै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा ‘अर्थतन्त्रका चुनौती र समाधानका उपाय’ विषयक छलफल आयोजना गरेको थियो ।