GBIME

६ महिनामा नेपाल भित्रिने रेमिट्यान्स २४ प्रतिशतले बढ्याे

1.19K
shares

काठमाडौं, २३ माघ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपाल भित्रिने रेमिट्यान्समा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा पुस मसान्तसम्म २४.३ प्रतिशतले नेपाल भित्रिने रेमिट्यान्स बढेको हो ।

केन्द्रीय बैंकको तथ्यांक अनुसार समीक्षा अवधिमा नेपाल आउने रेमिट्यान्समा २४.३ प्रतिशतले वृद्धि भएर ५८५ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रेमिट्यान्समा ५.० प्रतिशतले गिरावट आएको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स १३.९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले वृद्धि भई २ लाख ७५ हजार ६४३ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई १ लाख ४२ हजार ५४८ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २९८.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २२.७ प्रतिशतले वृद्धि भई ६४४ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.४ प्रतिशतले घटेको थियो ।