समृद्धिको कार्यभार कुनै एक पक्षले मात्रै पुरा गर्न सक्दैन : उपप्रधानमन्त्री श्रेष्ठ
वि.सं.२०७९ फागुन १९ शुक्रवार १३:५९
shares

काठमाडौं, १९ फागुन । नेपाल सरकारको उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठले देशको समृद्धिका लागि कुनै एक पक्षले मात्रै सम्भव नरहेको बताएका छन् । शुक्रबार खिचापोखरी न्युरोड व्यापार संघलेको ८ औँ अधिवेशन तथा १५ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सबैको हातेमालोबाट देशको समृद्धि सम्भव रहेको बताएका हुन् ।
‘समृद्ध नेपाल निर्माणका लागि राज्यको दायित्व बढी छ । समाजबाद उन्मुख अर्थतन्त्र निर्माणका लागि राज्यको भूमिका बढी हुन्छ । तर निजी क्षेत्रको सहयोग विना यो सम्भवन छैन,’ उनले भने । देशको विकास र समृद्धिका लागि सबै क्षेत्रको हातेमालो आवश्यक रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो ।
निजी क्षेत्रलाई आफ्नो भूमिका बढाउन र गतिशिल बनाउनका लागि सहजिकरण गरिदिनु पर्ने आवश्यकता रहेको छ । ‘निजी क्षेत्रमा देखिएका समस्याहरु समाधानका लागि व्यवसायीहरुले राखेका कुराहरुमा मेरो चासो रहेको छ । साथै प्रधानमन्त्रीको पनि यो विषयमा चासो रहेको छ,’ उनले भने । व्यवसायीका समस्या समाधानका लागि सरकार निरन्तर रुपमा लागि रहेको श्रेष्ठको भनाइ छ ।
अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ अघि बढाउनका लागि सरकारले गुणात्मक हतक्षप गर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले व्यवसायीहरुको समस्या समाधानका लागि राज्यले ध्यान दिनु पर्ने बताए । व्यवसायीहरु हात्महत्या गर्ने अवस्थामा पुग्दा पनि राज्यले ध्यान दिन नसकेको उनको आरोप थियो ।

त्यस्तै नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले पनि व्यवसायीहरु मर्कामा परेको भन्दै त्यस तर्फ राज्यले ध्यान दिनु पर्ने धारणा व्यक्त गरे । आफूहरु अहिले आन्दोलनमा रहेको भन्दै राज्यले बैंकको ब्याजदर एकल विन्दुमा कायम गर्नु पर्ने उनको भनाइ थियो । ‘अहिलेको अवस्थामा व्यवसायीहरुले काम गर्न सक्ने अवस्था छैन, यो अवस्थामा सरकारले ध्यान नदिने हो भने व्यवसायीहरु पलायन हुने अवस्था देखिएको छ,’ कटुवालले भने ।

राष्ट्र बैंक र अर्थमन्त्रालयका व्यक्तिहरुले व्यवसायीको कुरा नसुनेको उनको गुनासो थियो । ‘राष्ट्र बैंकका गभर्नरको कान थुनिएको, अर्थमन्त्रीको कान थुनिएको भन्ने सुनेको छु, पत्रकार साथिहरुले उहाँहरुको कानसम्म यो कुरा पु¥याइ दिनु होला,’ उनले भने । व्यवसायीलाई आत्महत्या गर्नका लागि बाध्य बनाइएको भन्दै यो अवस्थाका लागि सरकार जिम्मेवार रहेको भन्दै यसमा ध्यान दिन उनले आग्रह गरे ।
त्यस्तै नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले अर्थतन्त्र चलायमान बनाउने व्यवसायीलाई राज्यले उपेक्षा गरेको धारणा व्यक्त गरे । व्यवसायीले उठाएका विषयमा राज्यले ध्यान नदिएको भन्दै यसको परिणाम गम्भिर हुने उनले चेतावनी दिए । ‘अब पनि हाम्रा मागका विषयमा सुनिदैन भने सबै व्यवसायी सडकमा आउँछन् । त्यो अवस्थामा नेपालको अर्थतन्त्र कता जाने हो सोच्नु पर्ने अवस्था आएको छ,’ उनले भने ।














