Dhulikhel Eco Banner new

शेयर बजारमा साढे २ प्रतिशतकाे गिरावट

5.82K
shares

काठमाडौं, २० फागुन । नेप्से परिसूचक यो साता साढे २ प्रतिशतभन्दा बढीले ओरोलो लागेको छ । गत साता २०२२ दशमलव ६४ विन्दुमा कारोबार बन्द भएको नेप्से यो साता ५३ दशमलव ६२ अंकले घटेर १९६९ दशमलव ०२ विन्दुमा पुगेको हो । यो अघिल्लो हप्ताको भन्दा २.६५ प्रतिशतले कम हो ।

यो साताको पाँच कारोबा दिनमा नेप्से एक दिन मात्रै सामान्य अंकले बढेको थियो भने अन्य चार कारोबार दिनमा भने ओरोलो लागेको थियो । हप्ताको पहिलो कारोबार दिन आइतबार बाहेक अन्य सबै दिन नेप्से घटेको थियो ।

यस साता सेन्सेटिभ इण्डेक्स पनि २.८१ प्रतिशत घटेको छ । त्यस्तै फ्लोट इण्डेक्स २.६५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९६ प्रतिशत घटेको छ ।

नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम, कारोबार संख्या र शेयर संख्या घटेको छ । गत साता दैनिक औषतमा २ अर्ब ९ करोडको शेयर कारोबार भएको बजारमा यस साता दैनिक औषतमा १ अर्ब ६९ करोडको शेयर किनबेच भएको छ ।

नेप्सेसँगै यस साता कुल बजार पुँजीकरणमा पनि गिरावट आएको छ । गत साताको अन्तिम कारोबार दिन २९ खर्ब १४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यस साता ७० अर्ब रुपैयाँ घटेर २८ खर्ब ४४ अर्बमा सीमित भएको छ । १३ उपसमूहमध्ये यस साता १ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १२ उपसमूहको परिसूचक घटेको छ । यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.२७ प्रतिशत अर्थात ८.२९ अंक बढेको छ ।

यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.९३ प्रतिशत घटेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.७८ प्रतिशत घटेको छ । अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३२८.०९ अंक घटेको छ ।