Dhulikhel Eco Banner new

ब्याजदरको समस्या समाधान हुन्छ : अर्थमन्त्री महत

4.36K
shares

काठमाडौं, १४ वैशाख । अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदरको समस्या आगामी मौद्रिक नीतिमार्फत समाधान हुने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा आज आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रियामा उनले मौद्रिक नीतिमार्फत ब्याजदर घटाइने बताए ।

‘अर्थतन्त्रमा देखिएको शिथिलता किन आयो भन्ने निजी क्षेत्र जानकार ’, उनले भने, ‘ब्याजदरका विषयमा मौद्रिक नीति खुकुलो गर्न जरुरी छ, यसका लागि नेपाल राष्ट्र बैंकलाई भनिसकेको छु ।’ उनले राष्ट्र बैंकले यसलाई गम्भीररुपमा लिएको र छिट्टै एउटा निर्णयमा पुग्नेमा विश्वास व्यक्त गरेका छन् ।

राष्ट्र बैंकलाई स्वतन्त्र रुपमा काम गर्ने अधिकार भएको भन्दै उनले एउटा परिवेशमा राष्ट्र बैंकले मौद्रिक नीतिमा कसिकसाउ गरेको भए पनि अब भने खुकुलो गर्न जरुरी रहेको बताए । उनले मौद्रिक नीतिमार्फत् बजारमा पुँजी प्रवाह आवश्यक रहेको बताए । ‘ब्याजदरले अवश्य पनि समस्या सिर्जना गरेको छ । अब मौद्रिक नीतिमार्फत पुँजी प्रवाह जरुरी छ’, उनले भने, ‘यसमार्फत उद्योग व्यवसायलाई सहयोग पुग्नेछ ।’

उनले अहिले पुँजीगत खर्च कम भएको भन्दै यसलाई बढाउन आवश्यक रहेको उनको भनाइ छ । ‘हाम्रो ठेक्का प्रक्रिया,साइट क्लियरेन्स’लगायतमा समस्या छ’, उनले भने,‘यसले गर्दा आयोजनाको काम अपेक्षा अनुसार अघि बढ्न सकेको छैन ।’ उनले आर्थिक वर्षको अन्तिम त्रैमासमा ठेक्का लगाउने परम्परा हटाउनुपर्ने धारणा राखेका छन् ।

आर्थिक वर्षको पहिलो दिनबाट काम सुरु गर्नुपर्ने भन्दै उनले यसका लागि सबै मन्त्रालयका साथीसँग कुरा गरिरहेको बताए । उनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुतका लागि एक महिना बाँकी रहेको भन्दै बजेटमार्फत समस्या समाधानमा आफू इमान्दारिताका साथ लाग्ने स्पष्ट पारेका छन् ।

‘अर्थतन्त्र गाडी कुदेको जस्तै हो, गाडीमा, स्टेरिङ मात्रै राम्रो भएर हुँदैन अन्य पक्ष पनि राम्रो हुनुपर्छ,’ उनले भने, ‘सबैले आ–आफ्नो जिम्मेवारी एक साथ पूरा गरेमात्रै गाडी गन्तव्यमा पुग्नसक्छ ।’ उनले निजी क्षेत्रलाई समस्याका कारण र नतिजा बुँदागत रुपमा उल्लेख गरी सुझाव दिन आग्रह गरे ।