१० महिनामा झण्डै २२ हजार ऋणी कालोसूचीमा
वि.सं.२०८० जेठ ८ सोमवार १०:४१
shares

काठमाडौं, ८ जेठ । बैंकका ऋण समयमा चुक्ता गर्न नसकेका कारण कालोसूचीमा पर्नेको झण्डै २२ हजार पुगेको छ । कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार चालू आर्थिक वर्षको १० महिनाको अवधिमा कालोसूचीमा पर्नेको संख्या २१ हजार ९१५ पुगेको हो ।
कारोना महामारी र त्यस पछि देखिएको आर्थिक मन्दीका कारण पछिल्लो समय कालोसूचीमा पर्नेको संख्या बढ्दै गएको छ । गत आर्थिक वर्ष २०७८/७९को असार मसान्तसम्म कालोसूचीमा पर्नेको संख्या २७ हजार ४७७ रहेको थियो । वैशाख मसान्तसम्म आइपुग्दा यो संख्या बढेर ४९ हजार ३९२ पुगेको छ । यी मध्ये ३७७ जना लघुवित्तबाट ऋण लिनेहरु पनि रहेका छन् ।
अहिले बैंक तथा वित्तीय संस्थामा कुल ऋणीको खातासंख्या १८ लाख हाराहारीमा छ । यो तथ्यांकको आधारमा पछिल्लो १० महिनामा करिब १.२५ प्रतिशत ऋणी कालोसूचीमा परेका छन् । कालोसूचीमा पर्नेहरूको संख्या बढ्दै जानुमा बजार चलायमान बन्न नसक्नु मुख्य कारण मानिएको छ ।



















