Dhulikhel Eco Banner new

उपत्यकामा बन्दको प्रभाव छैन : ट्राफिक प्रहरी

7.87K
shares

काठमाडौं, ७ भदौ । काठमाडौं उपत्यकामा सवारी साधन सामान्य रुपमा नै सञ्चालन भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । विभिन्न राजनीति दलहरुले आज नेपाल बन्दको घोषणा गरेको भए पनि त्यसको प्रभाव उपत्यकामा नपरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयल प्रवक्ता राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

‘विहानको समयमा कोटेश्वरमा दुईवटा सवारी माथि ढुङगा प्रहार भएको बाहेक अन्य त्यस्तो कुनै घटना घटेको छैन,’ उनले भने । अहिले काठमाडौं उपत्यकामा सामान्य रुपमा सवारी साधन सन्चालन भइरहेको उनको भनाइ छ ।

प्रवक्ता भट्टका अनुसार विहानको ढुङगा प्रहारबाट बा ३ ख ७९०६ नम्बरको माइक्रो बसको अगाडिको सिसा फुटेको छ । त्यस्तै बा ४ ख ९३९४ नम्बरको बसको पनि सिसा पनि फुटेको छ ।

आफ्ना नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको, एमसीसी पारित गरेको, महँगी बढेको लगायतका विषयमा विरोध जनाउँदै विप्लव नेतृत्वको नेकपा, विश्वभक्त दुलाल (आहुती) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी कम्युनिष्ट पार्टीले संयुक्त रुपमा बन्द आह्वान गरेका छन् ।