नयाँ संसदको पहिलो बैठक आज, के छ कार्यसूची ?
वि.सं.२०७९ पुस २५ सोमवार १०:२२
shares

काठमाडौं, २५ पुस । सोमबार (आज) संघीय संसदको पहिलो बैठक बस्दै छ । मंसिर ४ मा सम्पन्न निर्वाचनबाट निर्वाचित संसदको पहिलो बैठक सोमबार दिउसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो ।
त्यस्तै आज नै राष्ट्रियसभाको नियमित १३औँ अधिवेशन समेन सुरु हुनेछ । दुवै सदनका बेग्लाबेग्लै बैठकमा साझा कार्यसूचीका रुपमा संघीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने छ । यस्तै प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रसमेत वाचन गरेर सुनाइनेछ ।
त्यस्तै पहिलो बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची समेत रहेको छ । प्रतिनिधिसभाको बैठक संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सञ्चालन गर्ने छन् । नयाँ सभामुखको चयन नहुँदासम्म जेष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने कानुनी व्यवस्था रहेको छ ।
नेपालको संविधानअनुसार निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० प्रतिनिधिसभाको बैठक बस्ने प्रावधान छ । यसैगरी पहिलो बैठक प्रारम्भ भएको दिनदेखि १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्छ । सभामुखको निर्वाचन सम्पन्न नभइसकेका कारणले हाल प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बैठक सञ्चालन गर्नेछन् ।
बैठकमा ज्येष्ठ सदस्य जबराले यही पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रस्तावबारे जानकारी गराउनेछन् । माओवादी केन्द्रका अध्यक्ष दाहाल यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा ७६ को उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । नयाँ प्रतिनिधिसभामा १२ राजनीतिक दल र पाँच स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ ।















