स्थानीय तह निर्वाचन : ७३४को मत परिणाम आयो, अन्य ठाउँमा के हुँदैछ ?
वि.सं.२०७९ जेठ १० मंगलवार ११:१३
shares

काठमाडौं, १० जेठ । स्थानीय तह निर्वाचनको मतपरिमाण धमाधम आउने क्रम जारी छ । मंगलबारमात्रै भरतपुर महानगरपालिकाको मेयर नेकपा माओवादी केन्द्रकी नेतृ रेनु दाहाल विजयी भएकी छिन् । विवाद भएर मतगणना नै रोकिएको उदयपुरको त्रियुगा नगरपालिका लगायतका ठाउँहरुमा मतगणना सुरु भइसकेको छ ।
निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म ७५३ पालिका मध्ये ७३४ वटा पालिकाको नतिजा आइसकेको छ । जसमा २७५ नगरपालिका र ४५९ गाउँपालिका रहेका छन ।
मत परिणाम सार्वजनिक भएका पालिकाहरुमध्ये नेपाली काँग्रेसले ३२१ वटा पालिकामा विजय हासिल गरेको छ भने नेकपा एमालेले २ सय पालिका जितेको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र) ले १२०,जनता समाजवादी २९, नेकपा (एकीकृत समाजवादी) १९, लोकतान्त्रिक समाजवादी पार्टी १५, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले समान ४ पालिकामा जित हासिल गरेका छन ।
त्यस्तै जनमत पार्टी ३, नेपाल मजदुर किसान, विवेकशील साझा, तमलोपा, जनप्रगतिशील पार्टीले १÷१ वटा पालिकाको प्रमुख जितेका छन । स्वतन्त्र उम्मेदवारले भने १२ पालिकाको प्रमुख पद जितेका छन । अब १९ वटा पालिकाको नतिजा सार्वजनिक हुन बाँकी छ ।















